पतिको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै कपिलवस्तुका मधेसी समुदायका महिलाले करवा चौथ पर्व हर्षोल्लासका साथ मनाएका छन्। बिहीबार दिनभर निर्जल र निराहार व्रत बसेका महिलाले राति चन्द्रमाको पूजाअर्चना गरी पतिको मुख हेरेपछि पानी खुवाएर व्रत तोडेका छन्।
हरेक वर्ष कार्तिक कृष्णपक्ष चतुर्थीका दिन मनाइने करवा चौथ विशेषगरी तराईका मधेसी समुदायका विवाहित महिलामाझ लोकप्रिय छ। यस पर्वमा महिलाहरूले सूर्योदयदेखि चन्द्रमा नउदाउन्जेलसम्म पानीसमेत नपिई व्रत बस्ने र चन्द्रमाको पूजा गरेपछि पतिको हातबाट पानी पिएर व्रत समापन गर्ने परम्परा छ।
कपिलवस्तु नगरपालिका–३ धनौराकोटकी रेनु श्रीवास्तवका अनुसार राति चन्द्रमाको विशेष पूजाअर्चना गरेपछि चाल्नोबाट पतिको अनुहार हेर्ने चलन छ। विवाहित महिलाले पतिको दीर्घायु र परिवारको सुख–समृद्धिको कामना गर्दै यो पर्व मनाउँदै आएको उनले बताइन्।
लुम्बिनी प्रदेशकी पूर्वप्रदेशसभा सदस्य सुषमा यादवले पनि पतिको दीर्घायुको कामना गर्दै निर्जल व्रत बसेर करवा चौथ मनाएकी छन्। छरछिमेक र परिवारका सदस्य मिलेर पर्व मनाएको उनले बताइन्।
करवा चौथका दिन व्रत बसेका महिलाले राति चन्द्रमाको पूजा गरेपछि चाल्नोबाट पतिको अनुहार हेर्ने र आफ्नै हातले पानी खुवाएर व्रत तोड्ने परम्परा छ। यसरी व्रत बसेमा भगवान्ले महिला र उनका पतिको रक्षा गर्ने धार्मिक विश्वास रहिआएको छ।
पर्वका अवसरमा घरमा नयाँ उत्पादन भएको धान कुटेर तयार पारिएको चामलको पिठोबाट विभिन्न परिकार तथा मिठाई बनाउने चलन पनि छ। पूजाआजापछि तयार पारिएका परिकार र प्रसाद छरछिमेक तथा इष्टमित्रलाई बाँडेर खाने परम्पराले पर्वमा पारिवारिक र सामाजिक आत्मीयता थप्ने गरेको छ।
भारतमा विशेष उत्साहका साथ मनाइने करवा चौथ पछिल्लो समय नेपालका तराई क्षेत्रमा पनि धार्मिक आस्था, पारिवारिक सद्भाव र सांस्कृतिक परम्पराका रूपमा मनाइँदै आएको छ।
प्रकाशित: १३ कार्तिक २०८३ १६:५९ शुक्रबार





