२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

आफ्नो गाडीमा नचढेको भन्दै ‘स्टाफ’ ले कुटे चार यात्रु

सुर्खेत बसपार्कभित्रै यातायात समितिका कर्मचारीहरूले यात्रुमाथि निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ।

आइतबार साँझ करिब ४ बजे मध्यपश्चिम यातायात प्रा.ली.का कर्मचारीले आफ्नो गाडीमा नचढेको भन्दै चार जना यात्रुलाई कुटपिट गरेका हुन्।

कालिकोटको मान्मबाट हाइसमा आएका यात्रुहरू कोहलपुर जाने तयारीमा थिए। सोही क्रममा मध्यपश्चिम यातायातका कर्मचारी कृष्ण बरालले ‘मेलमा आएको गाडी’ भन्दै अर्का कर्मचारी दिपक शाहीलाई बोलाएर यात्रुमाथि आक्रमण गर्न लगाएको पीडित पक्षले आरोप लगाएको छ।

यातायात कर्मचारीको कुटाइबाट यात्रुहरू कपुरे पाण्डे, धन पाण्डे, चरित्र देवकोटा र सुप्रिया रिजाल घाइते भएका छन्। उनीहरूको टाउको, आँखा र शरीरका विभिन्न भागमा चोट लागेको छ।

‘हामीले गाडी हेरेर आफ्नो रोजाइको गाडीमा चढ्न खोज्दा एक्कासी आएर कुटपिट गर्न थाले,’ पीडित चरित्र देवकोटाले भने, ‘यात्रुलाई आफ्नो इच्छाले गाडी छान्ने अधिकार पनि नहुने ?’

घटनालगत्तै पीडितहरूले जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा उजुरी दर्ता गराएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले यात्रुमाथि कुटपिट भएको उजुरी परेको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

सुर्खेत बसपार्कमा यातायात समितिका कर्मचारीहरूले यात्रुहरूसँग अभद्र व्यवहार गर्ने र झगडा गर्ने घटना बारम्बार हुने गरेको गुनासो आउने गरेको छ।

यात्रुहरूले बसपार्क क्षेत्रमा आफूहरू असुरक्षित रहेको बताउँदै आएका छन्।

प्रकाशित: २७ आश्विन २०८२ १९:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App