१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

बुवाआमाको हातबाट टीका लगाएर मानसरोवर हिँडेका पन्थी सम्पर्कविहीन

गत मंगलबार मानसरोवरको यात्रामा निस्केका अष्ट्रेलियाका ४६ वर्षीय नारायण पन्थी एक साता बितिसक्दा पनि सम्पर्कमा आएका छैनन्।

उनी दुई साता अघि जन्म घर मालाारानी– ५ बाँगी गुराँसे अर्घाखाँची पुगेका थिए। त्यसको नौ/दश दिनको बसाइपछि मंगलबार मानसरोवर दर्शन गर्नको लागि काठमाडौं स्थित होलिडे काठमाडौंको १७ जना समूह सहित मानसरोवर तर्फ हिँडेका थिए।

पन्थीको भाइ श्रीधर पन्थीको अनुसार मंगलबार मानसरोवर तर्फ हिडेको दिन टिमुरे बजारबाट बिहान ६ बजे फेसबुक लाइभ दिएका थिए।

परिवारसँग ७ बजेर ११ मिनेटसम्म फोनमा कुराकानी भएको थियो। सो क्रममा बिहानै मानसरोवर तर्फ हिँडिहाल्ने कुरा गरेका थिए। त्यसपछि परिवारले कुरा गरेनन्। तर उनीसँग कुरा भएको दुई घण्टा बित्न नपाउँदै रसुवामा भोटेकोशी बाढी आएको थियो।

बिहान कुरा गरेका नारायणले साँझ पुन: परिवारसँग फोनमा कुरा गर्ने प्रतिबद्धता जनाएका थिए। तर बुधबार बिहानदेखि अहिलेसम्म उनको बारेमा कुनै जानकारी आएको छैन। उनीसहित उनीसँगै हिँडेका १७ जना पनि सम्पर्कमा नआएपछि थप चिन्ता परेको उनका कान्छा भाइ श्रीधरले बताउँछन्।

यात्राको क्षेत्रमा बाढी आएको जानकारी पाएपछि पन्थीको परिवार काठमाडौं आई ट्राभल एजेन्सी, टिचिङ, वीर, राष्ट्रिय ट्रमा सेन्टर लगायत सबै स्थलहरूमा खोजी कार्य गरे।

खोजीकै क्रममा परराष्ट्र मन्त्रालयमा विदेशी नागरिक बेपत्ता भएको सूचिमा पनि जानकारी गराए। लगातार तीन दिनसम्म खोजी गर्दा केही पत्ता नलागेपछि श्रीधर आइतबार घर फर्केका छन्।

सजिलै सम्पर्कमा नआउने भएपछि आफू घरमा रहेका वृद्धा बुवा–आमाको हेरचाहको लागि फर्केको उनले बताए। ‘८०/८१ वर्षका बुवा–आमा हुनुहुन्छ, दाइ नभेटिएपछि चिन्तामा हुनुहुन्छ, समाल्न यता आएँ’,श्रीधरले मंगलबार नागरिकसँगको कुराकानीमा भने। 

श्रीधरको अनुसार नारायण धार्मिक स्वभावका व्यक्ति थिए। विगत १६ वर्षअघि अष्ट्रेलिया गएका उनी अष्ट्रेलियाकै नागरिक पनि हुन्। नारायण सहित उनको परिवार पनि उतैको नागरिक बनेका छन्।

धार्मिक स्वभावका नारायण नेपालमा आउँदा पर्यटकीय र धार्मिक स्थलहरू घुम्न मन पराउँथे। यो वर्ष उनको मुख्य लक्ष्य केलाश मानसरोवरको दर्शन गर्नु थियो।

मानसरोवर हिँड्नु अघि नारायणले बुवा आमाको हातबाट टीका लगाएर आर्शिवाद लिएको तस्बिर पनि सञ्जालमा पोस्ट गरेका थिए। उनले लेखेका छ, ‘आमा बुवाको आर्शिवाद लिएर पवित्र स्थल मानसरोवरमा रम्नेछु।’

उनले चिनेका काठमाडौंका केही साथी र अरू अन्जान टोली सहित मानसरोवर पुगेका हुन्। कैलाश पुग्ने सपना पुरा हुन लागेकोमा नारायण अति खुसी थिए। खुशीको लागि बाटैबाट लाइभ भिडियो पोस्ट गरे। तर अहिलेसम्म सम्पर्क हुन नसकेपछि परिवारमा चिन्ता बढेको छ।

उता अष्ट्रेलियामा रहेकी पत्नी र दुई छोरीहरू पनि अझै पति आउने आशाले ढुक्क रहेको श्रीधर बताउँछन्। ‘यहाँको स्थितिबारेमा पुरै कुरा थाहा छैन भाउजू दाइ फर्केर आउने कुरामा ढुक्क हुनुहुन्छ’, उनले भने।

घटनापछि नारायण अष्ट्रेलियास्थित क्विन आइसल्याण्ड नेपलिज कल्चरल सेन्टरले सूचना जारी खोजी गर्नको लागि अपिल गरेको छ। कति मानिसहरू बाढीबाट भागेर अप्ठेरो ठाउँमा उद्धारको पर्खाइमा रहेको देखिएकोले अझै पनि दाइ फेला पर्ने आशामा रहेको श्रीधर बताउँछन्।

‘सरकारले सक्दो छिटो खोजेर उद्धार गरे दाइ भेटिनु हुन्छ भन्ने लाग्छ’उनले भने। उनले दाइ आवद्ध देशको नेपाल स्थित अष्ट्रेलियाली दूतावासले खोजीको लागि विशेष पहल गरिदिनु आग्रह गरेका छन्।

प्रकाशित: १६ भाद्र २०८३ १५:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App