२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

ऐतिहासिक ‘चुनवाङ शान्ति सङ्ग्रहालय’ का चित्र तयार, मूर्ति बन्दै

सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण राजनीतिमा रूपान्तरण गर्ने निर्णय गरेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को केन्द्रीय समिति बैठक बसेको ऐतिहासिक स्थानमा बन्दै गरेको ‘चुनवाङ शान्ति संग्रहालय’ का लागि काठमाडौंमा कला सिर्जना तीव्र गतिमा भइरहेको छ।

चित्रकला करिब तयार भएका छन् भने मूर्तिकला निर्माणाधीन छन्। त्यहाँ राख्नका लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँग ३० देखि ३५ चित्रकला र ४० भन्दा बढी मूर्तिकला निर्माणका लागि भएको सम्झौताअनुसार अहिले काठमाडौंमा कला सिर्जनाको काम जारी छ। सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वप्रमुख पूर्णबहादुर घर्तीले चुनवाङस्थित बैठक बसेको घर र माओवादी अध्यक्ष बसेको घर संरक्षण गरी सोही ऐतिहासिक निर्णय भएको स्थानलाई शान्ति संग्रहालय बनाउने काम भइरहेको बताए।

त्यसका लागि सशस्त्र द्वन्द्वका बेला भएका घटनाक्रम, बैठक, त्यसबेलाका माओवादीका गतिविधि समेट्ने गरी चित्र र मूर्ति निर्माण भइरहेको उनले बताए। एक हजारभन्दा बढी तत्कालीन अवस्थाका तस्बिरसमेत उक्त संग्रहालयमा रहने छन्। छुट्टै नयाँ भवन बनिरहेको छ।

विसं २०६२ असोजमा रुकुमपूर्व (हालको भूमे गाउँपालिका वडा नम्बर ९) चुनवाङमा बसेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को केन्द्रीय समिति बैठकले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न संसदीय राजनीतिक शक्तिसँग सहकार्य गर्ने निर्णय गरेको थियो।

त्यसैको जगमा तत्कालीन संसदीय राजनीतिक दल र माओवादीबीच दिल्लीमा १२ बुँदे समझदारी भएको थियो। तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि संसदीय राजनीतिक दल रुष्ट रहेका बेला त्यसैलाई उपयोग गर्ने गरी माओवादीको उक्त बैठक बसेको सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वप्रमुख घर्ती बताउँछन्।

घर्ती उक्त बैठकमा सूचना संकलन तथा बैठकका विषय टिपोट गर्ने जिम्मेवारीमा थिए। त्यसैले संग्रहालय स्थापनाका लागि उनी सक्रिय छन्।

उनले हालै संग्रहालयका लागि निर्मित चित्रकला र मूर्तिकला अवलोकन गरे। उनले अवलोकनपछि भने, ‘त्यो बेलाका दृश्य जस्तो थियो, त्यस्तै चित्र र मूर्ति सिर्जना होस् भन्ने चाहना हाम्रो छ, कुनै बढाइचढाइ गर्नुपर्ने जरुरी छैन, हेर्दा जस्ताको तस्तै देखियोस्।’ चित्र अवलोकनपछि आवश्यक परिमार्जनका लागि उनले कलाकारहरूलाई सुझाव दिएका छन्।

त्यही चुनवाङ बैठकले लिएको निर्णयले दुई राजनीतिक शक्ति एक ठाउँमा उभिए र त्यसैको बलमा २०६२/२०६३ मा जनआन्दोलन भयो। त्यसपछि माओवादी शान्ति प्रक्रियामा आएको थियो।

‘अहिलेसम्म जे-जे उपलब्धि भए, संविधान जारी भयो, संघीय राज्य स्थापना भयो, समावेशी र समाजवाद उन्मुख संविधानको जग त्यही थियो र अहिले महिला, आदिवासी जनजाति, दलित, उत्पीडित वर्गहरूका लागि भएको ऐतिहासिक निर्णयको जग त्यही थियो,’ घर्तीले भने।

लुम्बिनी प्रदेश सरकारले २०६९ सालमै चुनवाङ शान्ति संग्रहालय विकास समिति गठन आदेश जारी गरिसकेको छ। सोही आधारमा यहाँ बैठकस्थलको पुरानो भवन संरक्षण गरिएको छ भने नयाँ भवन बनिरहेको छ।

सरकार पक्ष र माओवादी पक्ष कसैको पनि जित हुने अवस्था नदेखिएको र तत्कालीन संसदीय शक्ति राजाबाट बिच्किएपछि यो संक्रमणकाललाई सदुपयोग गर्नुपर्छ भनेर नै चुनवाङ बैठकले ऐतिहासिक निर्णय गरेको उनले सम्झे।

उक्त शान्ति संग्रहालयमा राख्ने गरी कलाकारले माओवादीले हतियार बोकेर गाउँगाउँ हिँडेका, उनीहरूले सांस्कृतिक कार्यक्रम देखाएका, दोहोरो भिडन्त भएका, गाउँ समाजमा माओवादी लडाकुहरू घुम्दाका अवस्था र चुनवाङ बैठककै गतिविधिसमेत कलामा उतारेका छन्।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख तथा प्राज्ञ परिषद् सदस्य दिनेश्वर महतोले त्यो ऐतिहासिक स्थललाई विश्वसामु चिनाउनुपर्छ भनेर स्थापना हुन लागेको शान्ति संग्रहालयमा प्रतिष्ठान जोडिन पाएकामा खुसी व्यक्त गरे। उनले कलाकारलाई स्थलगत रूपमा लगेर पनि कला सिर्जना गराउने सोच रहेको सुनाए।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले देशका धेरै पालिकामा यस्ता संग्रहालय बन्ने क्रममा रहेको तर यो चुनवाङ संग्रहालय विशिष्ट पहिचान बोकेको बताए। भूमे गाउँपालिकासँग सम्झौता भएर काम गर्न पाउनु प्रतिष्ठानका लागि महत्वपूर्ण भएको उनले बताए। यसले आगामी दिनमा अन्तरराष्ट्रिय रूप लिने उनले विश्वास गरे।

विशेष गरी उक्त बैठकले राजनीतिक-फौजी कार्यदिशा पास गरेको थियो। संविधानसभा र लोकतान्त्रिक गणतन्त्रको नाराका आधारमा मिल्न सकिने जति शक्तिसँग मिलेर राजतन्त्र विरोधी आन्दोलनलाई व्यापक र सशक्त बनाउने थियो। यस्तै विद्रोहको सम्भावनालाई उपयोग गर्न वैचारिक, राजनीतिक र साङ्गठनिक तयारी बढाउने, कार्यकर्ता र जनतालाई व्यापक फौजीकरणमा प्रयत्न गर्ने र जनमुक्ति सेनाको संरचनामा चार डिभिजन थप गर्ने बैठकले निर्णय गरेको थियो।

मुख्यतः तत्कालीन संसदीय राजनीतिक दलसँग १२ बुँदे सहमतिपछि पहिलो कार्यादेशअनुसार माओवादी शान्ति प्रक्रियामा आएको थियो। त्यसैको स्मरणमा यहाँ चुनवाङ शान्ति संग्रहालय बनाउन लागिएको हो। नारायण ढुङ्गाना/रासस

प्रकाशित: २ भाद्र २०८२ १३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App