१८ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

उदयपुरमा बाख्रा अज्ञात रोगको प्रकोप, सात दिनमा डेढसय मरे

केहीदिनयता उदयपुरमा बाख्रामा अज्ञात रोगको प्रकोप (देसान) बढेको छ। देसानले गर्दा बाख्रा पालन गर्दै आएका व्यवसायिक किसानका डेढसय बढी बाख्रा एकसाताभित्र मरिसकेका छन् ।  

अघिल्लो दिउँसो मात्र सदरमुकाम त्रियुगा नगरपालिका १० गाईघाट बोक्सेस्थित प्रेमबहादुर खड्काको एउटा खोर पुरै रित्तिएको छ । चार वटा अलग अलग खोरमा पालेका बाख्रामध्ये एउटा खोरका १३ वटा घण्टाभर मै मरेको उनले बताए । बिहान दिउँसो आनन्द चरेर खोरमा पस्ने बेला बाखहरु भकाभक ढलेको पीडित किसानले बताए ।

बोक्से आदर्श टोलका खड्काले हिमचुली बाख्रा फार्ममार्फत व्यवसायिक पालन गर्दै आएका छन् । ‘माउ मात्र भएको भए त्यति धेरै क्षति हुँदैनथ्यो’ खड्काले भने ‘सबै गाभिनो थिए, त्यसमाथि हरेक बेतमा जम्ल्याहा पाठा जन्माउने माउ बाख्रा मर्दा व्यापक क्षति पुग्यो ।’  

यसैगरी त्रियुगा नगरपालिका १४ निपानेस्थित रामकुमार राईले गरेको कृषि फार्मका दर्जन बढी बाख्रा पनि मरेका थिए । फार्म सञ्चालक राईका अनुसार हरेक महिना ४–५ वटाका दरले बाख्रा मर्ने गरेको तर, कारण पत्ता लागेको छैन । उनका अनुसार चराएर घरमा खोर हाल्ने बेला, कोही चर्दाचर्दै र कोही खोरभित्र थरर काप्ने र भ्वाक्क ढल्ने गरेका छन् । बितेको ६ महिनाको अवधिमा ५० भन्दा बढी बाख्रा बोका मरिसकेको उनले बताए ।  

बाखा बिरामी भएको खबर गर्दा पनि समयमै सम्बन्धित निकायले उपचार गर्ने प्राविधिक टोली नपठाउँदा किसान क्षति बेहोर्न बाध्य हुनु परेको गुनासो किसानहरुको छ । राईले पनि बाख्रा मर्ने गरेको भन्दै नगरपालिका र भेटनरी अस्पतालमा खबर गर्ने गरेको तर, समयमा प्राविधिक नआउने गरेको दुःखेसो गरे । पटक पटक खवर गर्दा नआएको तर, बाख्रा मरेपछि भने प्राविधिक आएको उनले बताए । ‘कतिपटक बोलाउँदा आएनन्, मरेपछि भने आएछन्’ राईले भने ‘मरेको बाख्रा हेर्न आएर  अव पोष्टर्माटम गर्नुपर्छ भन्दै गए ।’

खड्काले पनि बाख्रा बिरामी हुन थालेदेखि नै निवेदन र मौखिक जानकारी गराए पनि प्राविधिक नआएको गुनासो गरेका छन् । ‘मैले बेलैमा नगरपालिकाका र भेटनरी अस्पतालमा खवर गरेको थिएँ’ खड्काले भने ‘तर, आउँदै आएनन् । अहिले मरेको बाख्रा हेर्न आए र अव पोष्र्टमार्टम गरेर के रोग हो पत्ता लगाउनुपर्छ भनेका छन् ।’

त्रियुगा नगरपालिका पशु विकास शाखाले भने बाख्रा मरेपछि मात्र खवर आएको जनाएको छ । नगर पशु शाखा प्रमुख इन्द्रनारायण चौधरीले रामकुमार राईको फर्ममा ५ वटा बाख्रा मरेपछि मात्र खबर आएको र आफुसहितको प्राविधिक टोली गएर हेर्दा विषालु घाँस खाएर मरेको भन्ने प्रमाणित भएको बताए । त्यसैगरी प्रेमबहादुर खड्काको फार्मका बाख्रा पनि मरेपछि मात्र खबर आएको चौधरीले बताए ।  

चौधरीका अनुसार सुरुमा प्राईभेट भेट्नरीलाई बोलाएर उपचार गर्ने बानी किसानहरुको रहेको छ । सुरुमै सरकारी कार्यालयलाई सम्झे धेरै क्षति नहुने भए पनि किसानहरुमा त्यो चेतना अभावले यस्तो दुर्घटना हुन पुग्ने चौधरीको भनाई छ । ‘सुरुमा किसानहरु हामीलाई खवर गर्दैनन्, पशु चौपाय बिरामी भयो कि प्राईभेट जेटिए बोलाईहाल्छन्’ चोधरीले भने ‘उनीहरुले के औषधि दिन्छन्, कस्तो उपचार गर्छन्, पशु मर्न थालेपछि पो हामीलाई सम्झन्छन् ।’ खड्का र राईको फार्ममा पनि त्यस्तै भएको भन्ने उनले सुनेका छन् ।

किसानहरुले बाख्रामा यस्तो रोग यसअघि कहिल्यै नदेखेको बताएका छन् । जंगलमा चर्दाचर्दै, घर ल्याउँदाल्याउँदै र खोरमा सुतेका बेला बाख्रा मर्ने गरेको भन्दै रोग पत्ता लगाएर किसानलाई क्षति गर्नबाट बँचाउनुपर्ने बोक्सेका किसान ओम खड्काले बताए । 

प्रकाशित: १८ चैत्र २०८२ १६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App