सरकारले एक प्रदेशबाट अर्को प्रदेश जाने सवारीसाधनको मात्रै भाडा बढेको स्पष्ट पारेको छ।
आज (बुधबार)देखि नै लागु हुने गरि सार्वजनिक सवारीसाधनमा भाडा बढाएको सरकारले जनाएको छ। यद्यपी विद्युतीय सवारीसाधन र एउटै प्रदेशभित्र चल्ने सवारीसाधनको भाडा भने नबढेको यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ।
'एक जिल्लाबाट अर्को जिल्लामा जाने वा कुनै एक प्रदेशभित्र चल्ने सवारीसाधनको भाडा बढेको होइन।,' यातायात व्यवस्था विभागका निर्देशक श्रीकान्त यादवले नागरिकन्युजसँग भने।
उनका अनुसार विभागले अन्तरप्रदेश चल्ने सवारीसाधनको मात्रै भाडा बढाउन पाउँछ। प्रदेशभित्रको भाडादर समायोजनको जिम्मा सम्बन्धित प्रदेश सरकारलाई रहेकाे उनले बताए। दुई वटा प्रदेश भइ चल्ने सार्वजनिक सवारीसाधनमा भाडा बढेको भएपनि विद्युतीय सवारी साधनको भाडा भने नबढेको विभागले स्पष्ट पारेको छ।
विभागका अनुसार यात्रुवाहक सवारीको भाडा १६।७१ प्रतिशतले बढेको छ। मालवाहक सवारी साधनको भाडामा पनि उल्लेख्य वृद्धि भएको छ। पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१।६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५९७५ प्रतिशतले बढाइएको छ।
प्रकाशित: २५ चैत्र २०८२ १७:३२ बुधबार




