जुम्लामा दसैँको सुरुवात घरघरमा जमरा राखेर होइन, चन्दननाथ र भैरवनाथ मन्दिरमा पुर्ख्यौली परम्पराअनुसार लिंगो ठड्याएर हुन्छ। कर्णालीकै प्रसिद्ध यी दुई मन्दिरमा नयाँ लिंगो प्रतिस्थापन भएपछि मात्रै जुम्लीहरूले घरघरमा घटस्थापना गर्छन्।
आइतबार पाँच वटा लिंगो ठड्याइएसँगै जुम्लामा दसैँको विधिवत् सुरुवात भएको छ। तर, पुस्तौँदेखि चल्दै आएको यो धार्मिक अनुष्ठानसँगै जोडिएको सामूहिक सहभागिता भने क्रमशः कमजोर हुँदै गएको छ।
चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हाते लिंगो र ५२ हाते कपडा राख्ने परम्परा छ। पुर्खादेखि नै विजय स्तम्भसहित पाँच वटा पुराना लिंगो निकालेर नयाँ ठड्याउने चलन रहेको चन्दननाथ नगरपालिका–५ का स्थानीय जानकार चित्रलाल श्रेष्ठले बताए।
लिंगोलाई रातो, सेतो र रङ्गीविरङ्गी कपडाले सजाइन्छ। लिंगो ठड्याउने क्रममा भाँचिए वा खण्डित भए पूरै देशमा अनिष्ट हुन्छ भन्ने जनविश्वाससमेत रहिआएको छ।
तत्कालीन राजाले चीनबाट युद्ध जितेर फर्कँदा गजुर ल्याएर मन्दिरमा चढाएको र सन् १४९८ देखि लिंगो गाड्ने परम्परा सुरु भएको बताइन्छ।
प्रत्येक दिन पूजा हुने मन्दिरमा साताको एक पटक विशेष पूजा हुने र वर्षमा ५२ साता हुने भएकाले ५२ हाते ध्वजासहित ५२ हाते लिंगो खडा गर्ने प्रचलन रहेको छ।
यही अनुष्ठान पूरा भएपछि घरघरमा घटस्थापना गरिन्छ। जमरा राख्न मन्दिरकै माटो घरमा लैजाने चलनसमेत छ।बिहान ८ बजेदेखि स्थानीय बासिन्दा बाजागाजासहित पूजा गर्न मन्दिरमा जुटेका थिए।
देवताको जयघोष, पूजा आरती र भजनकीर्तनका बिच पुराना लिंगो हटाएर नयाँ ठड्याइएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाले बताए।
उनका अनुसार लिंगो फेर्ने धार्मिक अनुष्ठानसँग जुम्लीहरूको आस्था र पुर्ख्यौली परम्परा जोडिएको छ।
चन्दननाथ र भैरवनाथ मन्दिरमा सरकारी कार्यालयका कर्मचारी, सेना र प्रहरीले ल्याउने पल्टन लिंगो, थपाला लिंगो, कम्सल लिंगो, चन्दननाथको एउटा पुरानो लिंगो र विजयी स्तम्भ गरी पाँच वटा लिंगो गाड्ने गरिन्छ।
यी लिंगो केवल काठका खम्बा होइनन्, जुम्लाको धार्मिक तथा सांस्कृतिक इतिहाससँग जोडिएका प्रतीक हुन्।लिंगो ल्याउने परम्परामा विभिन्न जिल्लाको योगदानसमेत जोडिएको छ।
जुम्लाबाट अन्न र पैसा, कालिकोटबाट बाबियो, घिउ र मह, हुम्लाबाट ठेटुवा, चौरी फुर्को र थाप्का तथा मुगुबाट मास, मुगी दाल, राडीपाखी, ठेटुवा र चौरी फुर्को ल्याउने चलन छ।
यसरी फरक फरक जिल्लाबाट सामग्री जुटाएर गरिने अनुष्ठानले यस परम्पराको भौगोलिक र सांस्कृतिक सम्बन्धलाई देखाउँछ।
गत असोज २२ गते चन्दननाथ नगरपालिका–३ मा पर्ने ढाँण थपालाको लामासिम जंगलबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सयौँ भक्तजनको संयुक्त बलमा लिंगो ल्याइएको थियो।
लामासिम जंगलका लिंगो सोझा र मन्दिरसम्म ल्याउन सजिलो हुने भएकाले त्यहीँबाट ल्याउने गरिएको स्थानीय बताउँछन्।ऋषि पञ्चमीका दिन काटिएका लिंगो त्रयोदशीका दिन जंगलबाट खलंगातर्फ ल्याइन्छन्।
त्यसपछि औँसीमा तिनको आकार मिलाइन्छ। प्रतिपदा अर्थात् घटस्थापनाका दिन पातारासी गाउँपालिका–७ रिनी गाउँका भक्तजनले स्थानीय रातोमाटो अर्थात् गेरुले लिंगो रङ्गाउने र लिपपोत गर्ने गर्छन्।
मन्दिरको जग्गा परम्परादेखि भोग चलन गरेबापत रिनीवासीले यो जिम्मेवारी पूरा गर्दै आएका हुन्। लिंगो ल्याउने परम्परामा आएको परिवर्तनले जुम्लाको सामूहिक सहभागितामा आएको बदलावलाई पनि देखाउँछ।
दशक अघिसम्म लिंगो ल्याउने दिन बिहान ४ बजे नेपाली सेनाको बिगुल बज्थ्यो। बिगुल बजे लगत्तै गाउँका तालुकदार वा मुखियाले उर्दी गर्थे। गाउँलेहरू जम्मा हुन्थे र सरकारी बाजागाजासहित लिंगो लिन जंगलतर्फ जाने टोली तयार हुन्थ्यो।
विसं २०४६ देखि २०५९ सालसम्म वडा अध्यक्षले मानिस बोलाउने गर्थे। गाउँलेको सामूहिक सहभागितामा लिंगो ल्याउने परम्परा त्यस बेलासम्म बलियो थियो। अहिले भने गाउँलेलाई बोलाएर सामूहिक रूपमा सहभागी गराउने चलन हराउँदै गएको छ।
‘हरेक वर्ष बिहान ४ बजे ठिक सेनाको बिगुल बज्थ्यो। त्यसपछि गाउँका तालुकदार मुखियाले उर्दी गर्थे,’ गौरीनन्द आचार्य विगत सम्झन्छन्, ‘सरकारी बाजागाजासहित लिंगो ल्याउन जाने गरिन्थ्यो। अहिले त्यो बोलाउने चलन हराइसकेको छ।’
विसं २०२० सालसम्म लिंगो मानिसकै काँधमा बोकेर जंगलबाट मन्दिरसम्म ल्याइन्थ्यो। ठुलो काठ काँधमा बोकेर सयौँ मानिस खलंगातर्फ आउँदा त्यो धार्मिक अनुष्ठानभन्दा बढी सामूहिक उत्सवजस्तो देखिन्थ्यो।
अहिले स्थानीयको सहभागिता घट्दै गएपछि डोरीको सहायताले तानेर ल्याउने गरिएको छ। पछिल्लो समय भक्तजनको संख्या घटेको र सुरक्षाकर्मीकै भरमा लिंगो काटेर ल्याउनेदेखि ठड्याउनेसम्मका काम हुने गरेको देखिन्छ।
धार्मिक तथा ऐतिहासिक परम्परा जोगाइराख्न स्थानीयको सहभागिता बढाउन गुठी समितिले अपिलसमेत गरेको छ।
चन्दननाथ भैरवनाथ मन्दिरको इतिहास जुम्ला राज्यको स्थापनासँग जोडिएको छ। विसं १४४८ मा राजा बलिराजले चन्दननाथ मन्दिर निर्माण गरेका थिए। त्यसपछि मन्दिरले पटक पटक विभिन्न समस्या झेल्नुपरेको थियो।
विसं १८४६ मा जुम्ला राज्य कब्जामा परेपछि मन्दिरको भौतिक संरचना ध्वस्त भएको बताइन्छ। त्यसपछि सिद्ध चन्दननाथ बाबाले मन्दिर निर्माण गरी चरणपादुका बनाएर दत्तात्रयको मूर्ति राखेका थिए।
विसं ६७० मा चन्दननाथ बाबालाई मूर्ति चढाइएको दिनलाई पनि विशेष महत्त्वका साथ हेरिन्छ। तत्कालीन राजाले चीनबाट युद्ध जितेर फर्कँदा गजुर ल्याएर चढाएको प्रसङ्ग र सन् १४९८ देखि लिंगो गाड्ने परम्परा सुरु भएको मान्यताले मन्दिरको धार्मिक इतिहासलाई थप विशिष्ट बनाएको छ।
चन्दननाथ भैरवनाथ मन्दिरमा लिंगो फेरिएसँगै जुम्लामा दसैँ सुरु भएको मानिन्छ। पुराना लिंगो निकाल्दा त्यसमा बाँधिएका ध्वजा र नेजा मानिसहरूले घर लैजाने गर्छन्।
ती ध्वजा र नेजा घरमा राख्दा शक्ति प्राप्त हुने र अनिष्ट नहुने जनविश्वास छ। लिंगो गाड्दा खनिएको माटोसमेत घरमा बोकेर लैजाने गरिन्छ। घटस्थापनाकै दिन उत्पादन वृद्धि होस् र भोकमरी नआओस् भन्ने कामनासहित मन्दिरमा मार्सी धानको सिक चढाउने परम्परासमेत रहेको जानकारहरू बताउँछन्।
लिंगो खडा गर्ने ठाउँमा पुगेर आफूले चिताएको पूरा हुने विश्वासका कारण भक्तजनहरू वर्षौँदेखि यस अनुष्ठानमा सहभागी हुँदै आएका छन्।
यस पटक पनि करिब दर्जनौँ पटक सहभागी भएका भक्तजन मन्दिर पुगेका थिए। घटस्थापनाकै दिन जुम्लाका घरघरमा जौँका जमरा राखिन्छ।
साँझ नयाँ फलेको काली जुम्ली मार्सी धानको चिउरा कुटेर दही र महसँग मिसाई न्वागी बनाउने चलन छ। घरपरिवारका सदस्यसँगै विवाह गरेर गएका छोरी चेलीलाई बोलाएर न्वागी खुवाइन्छ।
यसरी लिंगो ठड्याउने धार्मिक अनुष्ठानदेखि मार्सी धानको न्वागीसम्म जुम्लाको दसैँ प्रकृति, कृषि, पारिवारिक सम्बन्ध र धार्मिक आस्थासँग जोडिएको छ।लिंगो फेरिएसँगै जुम्लामा दसैँ सुरु भएको छ।
प्रकाशित: २५ आश्विन २०८३ १२:३१ आइतबार





