कविता क्लबले बडा दसैँको अवसर पारेर शनिवार पोखरामा नौ नारी कविको सामूहिक कविता वाचन सम्पन्न गरेको छ।
‘नवदुर्गा कविता उत्सव’ नाम दिइएको कार्यक्रममा सरस्वती श्रेष्ठ ‘सरू’, रीता अधिकारी ‘ऋतु’, छन्दिका त्रिपाठी, चन्द्रावती वाग्ले, गीता तिवारी, प्रतिमा गुरुङ, बिर्सना बस्नेत, लक्ष्मी थापा र जुना थापाले नारीशक्ति र नारी अधिकारबारे कविता सुनाएका थिए।
कविहरूले महिलालाई हेप्ने पितृसत्तात्मक समाजप्रति तीव्र रोष प्रकट गर्दै देवी वा यस्तै अन्य उपमा दिँदैमा मक्ख नपर्न नारीहरूलाई नै आह्वान गरेका थिए। उनीहरूले दसैँ, नारी अधिकार, नारीशक्ति र समसामयिक विषयमा कविता सुनाएका थिए।
कार्यक्रमका अध्यक्ष तथा क्लबका समेत अध्यक्ष विम्बकवि रमेश श्रेष्ठले कविता क्लबले नेपाली कविताको उत्थानका लागि साठीको दशकदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आएको बताए। वाचित कविताहरूको सङ्क्षिप्त समीक्षा गर्दै उनले कवितामा प्रस्तुत विचारले नारीभित्र बर्सौँदेखि जकडिएर रहेका पीडा प्रस्तुत भएको बताए। आगामी दिनमा कविताको विकासका लागि ‘स्कुलमा कविता’ कार्यक्रम आयोजना गर्न विभिन्न विद्यालयसँग कुरा भइरहेको पनि श्रेष्ठले बताए।
क्लबका उपाध्यक्ष पदमराज ढकालको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए।
प्रकाशित: २५ आश्विन २०८३ १०:४५ आइतबार



-600x400.jpg)

