३० श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

ताप्लेजुङ फुङ्लिङ बजारमा पनि ‘वानवे’ प्रणाली

ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात लागू गरिने भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि सूचना प्रवाह र सोमबारदेखि नयाँ व्यवस्था कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ।

नयाँ व्यवस्थाअनुसार तोक्मेतर्फ जाने सवारीसाधन बुद्धचोक–तोक्मे हाट हुँदै बाहिरिनुपर्नेछ भने तोक्मेबाट बजार प्रवेश गर्ने सवारी दोबाटो हुँदै आउनुपर्नेछ। दोबाटोबाट कोप्चे हुँदै वीरेन्द्रचोक जान सकिने भए पनि वीरेन्द्रचोकबाट कोप्चे हुँदै पुनः दोबाटोतर्फ जान भने पाइने छैन।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख सन्तोष काम्बाङका अनुसार बजारमा बढ्दो सवारी चाप, साँघुरा सडक र पर्याप्त पार्किङस्थलको अभावका कारण एकतर्फी यातायातको व्यवस्था गर्नुपरेको हो। चाडपर्व, मेला तथा उत्सवका समयमा थपिने सवारी चापलाई समेत ध्यानमा राखेर नयाँ व्यवस्था गरिएको उनले बताए।

ट्राफिक प्रहरीले चालकलाई नयाँ व्यवस्थाबारे जानकारी गराउने काम भइरहेको जनाउँदै सोमबारदेखि नियम उल्लङ्घन गर्नेलाई जरिवानासहित कारबाही गर्ने चेतावनी दिएको छ।

बजारको आवागमन सहज बनाउन एकतर्फी यातायातले तत्काल राहत दिने अपेक्षा गरिए पनि दीर्घकालीन समाधानका लागि भने व्यवस्थित पार्किङस्थल निर्माण आवश्यक देखिएको छ।

प्रकाशित: ३० श्रावण २०८३ १७:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App