साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा यमनका हुथी विद्रोहीले क्षेप्यास्त्र आक्रमण गरेपछि मध्यपूर्वमा तनाव थप चर्किएको छ। घातक आक्रमणपछि विमानस्थल र अन्य संरचनालाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन प्रहार भएका छन्। नेपालसहित विश्वका धेरै देशले हमलाको निन्दा गर्नुका साथै आफ्ना नागरिकलाई सुरक्षित रहन अपिलसमेत गरेका छन्।
साउदी अरेबियाले केही क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीमार्फत रोकेको जनाएको छ भने हुथी समूहले विमानस्थल र सैन्य संरचनालाई निशाना बनाएको दाबी गरेको छ। पछिल्लो घटनाक्रमले साउदी अरेबिया र यमनबिचको द्वन्द्व चर्काउनुका साथै अमेरिका र इरानबिच जारी क्षेत्रीय युद्ध थप फैलिन सक्ने चिन्ता बढाएको छ।
गत शनिबार भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो भने तीन सयभन्दा बढी घाइते भएका थिए। घाइतेमध्ये एक भारतीय नागरिकको पछि मृत्यु भएपछि शनिबारको आक्रमणमा ज्यान गुमाउनेको संख्या १३ पुगेको हो।
आइतबार भएको अर्को आक्रमणमा एक पाकिस्तानी नागरिकको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए। पछिल्ला दिनमा भएका विभिन्न आक्रमणमा मृतकको संख्या बढ्दै गएको छ। शनिबारको आक्रमणका बेला विमानस्थलको यात्रु टर्मनिलमा मानिसहरू उडान चढ्न पर्खिरहेका थिए। त्यही समयमा विस्फोट भएपछि टर्मिनलको छतका केही भाग भत्किएको, धुलो र भग्नावशेष फैलिएको तथा यात्रुहरू ज्यान जोगाउन भागेको दृश्य सार्वजनिक भएको थियो। आक्रमणमा साउदी नागरिकसहित बाङ्लादेश, अमेरिका, जोर्डन, प्यालेस्टाइन, सिरिया, सुडान र इजिप्टका नागरिकले ज्यान गुमाए।
आक्रमणपछि किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सेवा बन्द गरिएको छ। विमानस्थल कम्तीमा आगामी शनिबारसम्म बन्द रहने बताइएको छ। दर्जनौं विमान कम्पनीका सयौं उडान रद्द भएका छन् भने कतिपय विमानको मार्ग परिवर्तन गरिएको छ।
विमानस्थल सञ्चालन पुनः सुरु गर्नुअघि सुरक्षा जाँच र भौतिक क्षतिको मूल्यांकन भइरहेको साउदी अधिकारीहरूले बताएका छन्। रियादबाहेक पूर्वीसाउदी अरेबियाको दम्मामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थललाई पनि हुथीले निशाना बनाएको दाबी गरिएको छ।
सोमबार साउदी सेनाले रियादतर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक क्षेप्यास्त्र रोकेको र दक्षिण–पश्चिममा रहेको खामिस मुसैत क्षेत्रतर्फ प्रहार गरिएका दुई क्षेप्यास्त्र नष्ट गरेको जनाएको थियो। हुथी समूहले रियादको विमानस्थल र सैन्य अड्डालाई लक्षित गरी आक्रमण गरेको दाबी गर्दै साउदी विमानस्थल प्रयोग नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनी र यात्रुहरूलाई दिएको चेतावनी पनि दोहोर्याएको छ। यसले विमानस्थलको सुरक्षासँगै क्षेत्रीय हवाई यातायातमाथि समेत जोखिम बढाएको छ।
साउदी अधिकारीहरूले विमानस्थलमा भएको घातक आक्रमणपछि आफ्नो हवाई प्रतिरक्षा प्रणालीले क्षेप्यास्त्र र ड्रोनलाई समयमै किन रोक्न सकेन भन्ने विषयमा अनुसन्धान थालेका छन्।
एक साउदी अधिकारीका अनुसार क्षेप्यास्त्र र ड्रोन लामो दूरी पार गरेर रियादसम्म पुग्दा पूर्वचेतावनी प्रणाली किन प्रभावकारी भएन भन्नेबारे अनुसन्धान भइरहेको छ। पछिल्लो घटनाले ठुलो रकम खर्च गरेर बनाइएका साउदी रक्षा प्रणालीका कमजोरीबारे पनि प्रश्न उठाएको छ।
यमनमा साउदी आक्रमणको जवाफ भएको हुथीको दाबी
हुथी विद्रोहीहरूले साउदी अरेबियामाथिको आक्रमण यमनमा साउदी सेनाले तीव्र पारेको सैन्य कारबाहीको जवाफ भएको बताएका छन्। उनीहरूका अनुसार साउदी युद्धक विमान र क्षेप्यास्त्र एकाइहरूले यमनमा लगातार आक्रमण गरिरहेका छन्। साउदी अरेबियाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई समर्थन गर्दै हुथी विद्रोहीविरुद्ध सैन्य कारबाही गरिरहेको छ।
साउदी नेतृत्वको गठबन्धनले हुथी नियन्त्रणमा रहेका क्षेत्र र सैन्य संरचनामा हवाई आक्रमण गर्दै आएको छ। यमनको हुथी नियन्त्रित स्वास्थ्य मन्त्रालयले सेप्टेम्बर ३ यता साउदी नेतृत्वको गठबन्धनका आक्रमणमा १०७ जनाको मृत्यु भएको र २७८ जना घाइते भएको दाबी गरेको छ। तीमध्ये धेरै महिला र बालबालिका रहेको उसको भनाइ छ।
हुथी समूहले साउदी अरेबियाका विमानस्थलसँगै तेल उत्पादन र सैन्य संरचनालाई पनि निशाना बनाएको दाबी गरेको छ। समूहका सैन्य प्रवक्ता याह्या सारीले दम्मामको विमानस्थल र साउदी तेल कम्पनी अरामकोका दुई प्रशोधन केन्द्रमा आक्रमण गरिएको बताएका छन्।
हुथी समूहले भविष्यमा पनि साउदी विमानस्थल र अन्य संरचनालाई निशाना बनाउन सक्ने चेतावनी दिएको छ। यमनमाथिको साउदी आक्रमण र हस्तक्षेप नरोके थप गम्भीर अवस्था आउन सक्ने उसको भनाइ छ। यसले दुवै पक्षबिच तत्काल तनाव कम हुने सम्भावना कमजोर बनाएको छ।
हुथी को हुन् र उनीहरू किन साउदी अरेबियासँग लडिरहेका छन्?
हुथी यमनको उत्तरपश्चिमी क्षेत्रमा प्रभाव र नियन्त्रण राख्ने राजनीतिक, धार्मिक तथा सैन्य आन्दोलन हो। उनीहरू आफूलाई ककअन्सार अल्लाह’ अर्थात् ककईश्वरका समर्थक’ पनि भन्छन्। यो आन्दोलन सन् १९९० को दशकमा उत्तरी यमनका जायदी शिया मुस्लिम समुदायबिच सुरु भएको थियो। समूहले यमनी राजनीतिमा बाह्य प्रभाव, भ्रष्टाचार र उत्तरी क्षेत्रको उपेक्षाविरुद्ध आवाज उठाउँदै आफ्नो प्रभाव विस्तार गरेको थियो। हुथी आन्दोलनको उदयलाई केवल धार्मिक विवादका रूपमा बुझ्न सकिँदैन।
यमनको कमजोर राज्यव्यवस्था, राजनीतिक अस्थिरता, क्षेत्रीय असमानता र साउदी अरेबियासँगको लामो समयदेखिको अविश्वासले पनि यसको विस्तारमा भूमिका खेलेका छन्। हुथीले यमनी सरकारमाथि साउदी प्रभावमा काम गरेको आरोप लगाउँदै आएका छन्। अर्कातर्फ साउदी अरेबियाले हुथीलाई आफ्नो दक्षिणी सीमामा सुरक्षा चुनौतीका रूपमा हेर्दै आएको छ।
सन् २०११ मा यमनमा भएको राजनीतिक परिवर्तनपछि पुरानो सत्ता कमजोर भयो। त्यसपछि सरकार गठन, सत्ता बाँडफाँट र देशको भावी राजनीतिक संरचनाबारे विवाद चर्कियो।
सन् २०१४ मा हुथीले राजधानी साना कब्जा गरेपछि अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार संकटमा पर्यो। राष्ट्रपति अब्दरब्बुह मन्सुर हादीको सरकार दक्षिणतर्फ सर्न बाध्य भयो र देशमा गृहयुद्ध गहिरियो।
सन् २०१५ को मार्चमा साउदी अरेबियाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई पुनस्र्थापित गर्ने उद्देश्यसहित हुथीविरुद्ध सैन्य अभियान सुरु गर्यो। साउदी नेतृत्वको गठबन्धनमा अन्य खाडी मुलुक पनि सहभागी भए।
साउदी नेतृत्वले हुथी आन्दोलनलाई इरानसँग नजिक रहेको समूहका रूपमा हेर्दै आएको छ र उनीहरूको सैन्य शक्ति विस्तारलाई आफ्नो सुरक्षाका लागि खतरा मान्छ तर सैन्य हस्तक्षेपले हुथीलाई पूर्णरूपमा पराजित गर्न सकेन। बरु युद्ध लामो समयसम्म चल्यो र यमनमा ठुलो मानवीय संकट निम्तियो।
संयुक्त राष्ट्रसंघको मध्यस्थतामा सन् २०२२ मा युद्धविराम भएपछि साउदी अरेबिया र हुथीबिचको प्रत्यक्ष लडाइँ केही समय सुस्त भएको थियो। तनाव कम गर्ने र राजनीतिक समाधान खोज्ने प्रयास भए पनि यमनको राजनीतिक भविष्य, क्षेत्रीय नियन्त्रण र सुरक्षा व्यवस्थासम्बन्धी विवाद समाधान हुन सकेन। सन् २०२६ मा पुनः तीव्र भएको लडाइँले पहिलेको युद्धविराम कमजोर बनेको देखाएको छ।
रेड सी र बाब अल–मन्देब जलमार्ग किन महत्वपूर्ण छन्?
हुथी र साउदीबिचको संघर्ष यमनको सीमाभित्र मात्र सीमित छैन। यमन रेड सी र बाब अल–मन्देब जलमार्गनजिक अवस्थित भएकाले त्यहाँको सैन्य गतिविधिले अन्तर्राष्ट्रिय समुद्री व्यापार र ऊर्जा आपूर्तिमा असर पार्न सक्छ। बाब अल–मन्देबले रेड सिलाइ अदनको खाडीसँग जोड्छ र एसिया, युरोप तथा अफ्रिकाबिच आवतजावत गर्ने जहाजका लागि महत्वपूर्ण मार्गका रूपमा काम गर्छ।
सन् २०२६ को पछिल्लो चरणको संघर्षमा हुथीले रेड सीको तटीय क्षेत्र र रणनीतिक स्थानमा आफ्नो नियन्त्रण बढाउने प्रयास गरेका छन्। उनीहरूले साउदी जहाज र तेल ढुवानीलाई निशाना बनाउने घोषणा गरेपछि समुद्री व्यापारको सुरक्षा थप चिन्ताको विषय बनेको छ। सेप्टेम्बरमा बाब अल–मन्देब नजिकका रणनीतिक क्षेत्र र मोचा बन्दरगाहमा हुथीको प्रभाव बढेको विवरण सार्वजनिक भएको छ। त्यसपछि साउदी समर्थित यमनी सेनाले ती क्षेत्र फिर्ता लिने अभियान चलाएको छ।
हुथीको समुद्री मार्गमा बढ्दो प्रभावले साउदी अरेबियाको तेल निर्यातमा पनि जोखिम थपेको छ। इरान र अमेरिका–इजरायलबिचको व्यापक क्षेत्रीय युद्धका कारण होर्मुज जलमार्ग हुँदै हुने ढुवानीमा अवरोध बढेपछि साउदी अरेबियाले रेड सीका बन्दरगाह र बाब अल–मन्देब आसपासका मार्गलाई अझ महत्व दिनुपरेको हो। यस्तो अवस्थामा हुथीले समुद्री मार्ग वा तेल संरचनामा आक्रमण गरे विश्व बजारमा तेल आपूर्ति, ढुवानी खर्च र व्यापारमा थप असर पर्न सक्छ।
इरानको भूमिका र क्षेत्रीय युद्धको प्रभाव
हुथी इरानसँग नजिकको सम्बन्ध राख्छन्। इरानले हुथीलाई हतियार, प्रविधि र अन्य सहयोग उपलब्ध गराएको आरोप अमेरिका तथा साउदी अरेबियाले लगाउँदै आएका छन्। हुथीको क्षेप्यास्त्र र ड्रोन क्षमतामा इरानी सहयोगको भूमिका रहेको उनीहरूको दाबी छ तर हुथीले आफूहरू इरानको निर्देशनमा मात्र चल्ने समूह नभएको बताउँदै आएका छन्। उनीहरूको आफ्नै राजनीतिक उद्देश्य र यमनमा सत्ता तथा भूभागमाथि नियन्त्रण कायम गर्ने चाहना पनि छ।
फेब्रुअरी २०२६ मा इरानसँग सम्बन्धित व्यापक युद्ध सुरु भएपछि हुथी–साउदी द्वन्द्वले थप क्षेत्रीय आयाम लिएको छ। इरान र उसका क्षेत्रीय सहयोगीमाथि दबाब बढ्दा हुथीले साउदी अरेबिया र समुद्री ढुवानीलाई निशाना बनाएर त्यसको प्रभाव क्षेत्रीय स्तरमा फैलाउन सक्ने अवस्था बनेको छ। यसैबिच, साउदी अरेबियाले हुथीविरुद्ध सैन्य कारबाही तीव्र पारेको छ र यमनको सरकारी सेनालाई समर्थन गरेको छ।
हुथीको आक्रमणले साउदी अरेबियालाई आफ्नो हवाई क्षेत्र, विमानस्थल, तेल संरचना र व्यापारिक मार्गको सुरक्षा गर्न थप स्रोत खर्च गर्न बाध्य बनाएको छ। साउदी अरेबियाले आफ्नो अर्थतन्त्रलाई तेलमा निर्भर अवस्थाबाट पर्यटन, व्यापार, प्रविधि र अन्तर्राष्ट्रिय लगानीतर्फ विस्तार गर्ने लक्ष्य राखेको छ, तर राजधानीको मुख्य विमानस्थलमै घातक आक्रमण हुनु र सेवा बन्द रहनुले देशको सुरक्षा छविमा असर पार्न सक्छ।
अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलनमा केही प्रमुख कम्पनीका प्रतिनिधि सहभागी नहुनु तथा उडानमा आएको अवरोधले पनि सुरक्षा संकटको आर्थिक असर देखाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरुद्ध साउदी अरेबियाको सैन्य कारबाहीमा अमेरिका सहभागी हुन सक्ने सम्भावना खुला राखेका छन्। उनले आक्रमणलाई गम्भीर घटना भन्दै साउदी नेतृत्वसँग छलफल गर्ने बताएका छन् तर अमेरिकाले प्रत्यक्ष सैन्य हस्तक्षेप गर्ने औपचारिक निर्णय सार्वजनिक गरेको छैन। यसअघि अमेरिकाले हुथीविरुद्धको अभियानमा साउदी अरेबियालाई गुप्तचर, हतियार र रसद सहयोग दिएको थियो।
सन् २०२१ मा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले यमनको मानवीय संकटलाई कारण देखाउँदै साउदी नेतृत्वको आक्रमणलाई दिँदै आएको समर्थन रोकेको थियो।
अमेरिका प्रत्यक्ष रूपमा युद्धमा प्रवेश गरे हुथीले थप आक्रमण गर्न सक्ने र बाब अल–मन्देब जलमार्गमा समुद्री ढुवानी अवरुद्ध गर्न सक्ने चिन्ता छ। यसले यमनको संघर्षलाई अझ ठुलो क्षेत्रीय युद्धमा बदल्न सक्छ। अर्कातर्फ, इरानले साउदी अरेबियासँग वार्ता सहज बनाउन सहयोग गर्न तयार रहेको संकेत दिएको छ। त्यसैले सैन्य दबाब बढिरहेका बेला कूटनीतिक वार्ताको सम्भावना पूर्णरूपमा समाप्त भइसकेको छैन।
अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया
रियाद विमानस्थलमा भएको आक्रमणको अमेरिका, संयुक्त राष्ट्रसंघ र विभिन्न देशले निन्दा गरेका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आक्रमणमा अमेरिकी नागरिकको पनि मृत्यु भएको पुष्टि गर्दै सर्वसाधारणको ज्यानप्रति बेवास्ता गरिएको बताए।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नागरिक र नागरिक पूर्वाधारमाथिको आक्रमण अन्तर्राष्ट्रिय कानुनविपरीत हुने बताएका छन्। पाकिस्तान, टर्की, संयुक्त अरब इमिरेट्स, मलेसिया र अन्य देशले साउदी अरेबियाप्रति ऐक्यबद्धता जनाएका छन्।
यूएईका राष्ट्रपति सल्लाहकार अनवर गर्गाशले साउदी अरेबियामाथिको आक्रमणले समग्र खाडी क्षेत्रको सुरक्षा कमजोर बनाउने बताएका छन्। उनले खाडी मुलुकबिच सुरक्षा र प्रतिरक्षासम्बन्धी सहकार्य बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।
साउदी विदेशमन्त्री फैसल बिन फरहानसँगको कुराकानीमा यूएई र मलेसियाका विदेशमन्त्रीहरूले पनि आक्रमणको निन्दा गर्दै साउदी अरेबियाको सुरक्षा र स्थिरताका लागि समर्थन व्यक्त गरेका छन्।
अमेरिका, बेलायत, क्यानडा, जर्मनी र अन्य देशले आफ्ना नागरिकलाई साउदी अरेबियाको यात्रा गर्दा सावधानी अपनाउन वा आवश्यकबाहेक यात्रा नगर्न आग्रह गरेका छन्। अमेरिकाले आफ्ना सरकारी कर्मचारीलाई साउदी विमानस्थल प्रयोग गर्न विशेष अनुमति लिनुपर्ने व्यवस्था गरेको छ।
अमेरिकी उड्डयन अधिकारीहरूले पनि सुरक्षा जोखिमलाई ध्यानमा राख्दै साउदी अरेबियामा वा त्यसमाथिबाट उडान गर्दा सावधानी अपनाउन विमान कम्पनीहरूलाई निर्देशन दिएका छन्।
साउदी अरेबियामा रहेका नेपालीलाई दूतावासको अपिल
रियादस्थित नेपाली राजदूतावासले साउदी अरेबियामा रहेका नेपाली नागरिकलाई सुरक्षा सतर्कता अपनाउन र आधिकारिक निकायका निर्देशन पालना गर्न आग्रह गरेको छ। दूतावासले विकसित सुरक्षा अवस्थालाई ध्यानमा राख्दै भ्रामक सूचना सामाजिक सञ्जालमा फैलाउनबाट जोगिन तथा संवेदनशील स्थानका तस्बिर र भिडियो नखिच्न अनुरोध गरेको छ।
दूतावासको सूचनाअनुसार नेपाली नागरिकले साउदी अरेबियाका आधिकारिक निकायबाट जारी सुरक्षा सूचना र निर्देशन पूर्णरूपमा पालना गर्नुपर्छ। सरकारी वा आधिकारिक स्रोतबाट पुष्टि नभएका समाचार, सूचना, फोटो र भिडिओ सामाजिक सञ्जालमा पोस्ट वा सेयर नगर्न पनि दूतावासले आग्रह गरेको छ।
त्यस्तै, साउदी अरेबियाबाट नेपाल वा अन्य देशतर्फ हवाई यात्रा गर्नुअघि आफ्नो उडानको समयतालिका परिवर्तन भएको छ कि छैन भनेर सम्बन्धित विमान कम्पनी वा आधिकारिक स्रोतबाट यकिन गर्न दूतावासले आग्रह गरेको छ।
विमानस्थल बन्द हुँदा वा उडान रद्द तथा परिवर्तन हुँदा यात्रु समस्यामा पर्न सक्ने भएकाले विमानस्थल जानुअघि उडानको पछिल्लो अवस्था बुझ्नुपर्ने सन्देश दूतावासले दिएको छ। समस्या परेमा वा आवश्यक जानकारी लिनुपरेमा नेपाली नागरिकले रियादस्थित नेपाली राजदूतावास वा जेद्दास्थित नेपाली महावाणिज्य दूतावासमा सम्पर्क गर्न सक्छन्।
नागरिक र सार्वजनिक संरचनामाथि आक्रमण हुनु हुँदैन
नेपाल सरकारले पनि रियाद विमानस्थलमा भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ। परराष्ट्र मन्त्रालयले अक्टोबर ११ मा जारी गरेको विज्ञप्तिमा कुनै पनि बहानामा सर्वसाधारण नागरिक र सार्वजनिक पूर्वाधारलाई निशाना बनाउन नहुने स्पष्ट पारेको छ। साथै, नेपालले सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन र विवाद तथा द्वन्द्व समाधानका लागि शान्तिपूर्ण उपाय अवलम्बन गर्न आग्रह गरेको छ। नेपालले साउदी अरेबियाका जनता र सरकारप्रति ऐक्यबद्धता पनि व्यक्त गरेको छ।
अब द्वन्द्व कुन दिशामा अघि बढ्ला?
साउदी अरेबिया र हुथी विद्रोहीबिचको पछिल्लो संघर्ष तत्काल रोकिने संकेत देखिएको छैन। साउदी अरेबियाले आफ्नो सुरक्षा र महत्वपूर्ण पूर्वाधारको रक्षा गर्नुपर्ने दबाब सामना गरिरहेको छ भने हुथीले साउदी आक्रमण नरोके थप कारबाही गर्ने चेतावनी दिएका छन्। यमनमा साउदी समर्थित सरकारी सेनाले आफ्नो नियन्त्रण गुमेका क्षेत्र फिर्ता लिन खोजिरहेको छ। त्यसको जवाफमा हुथीले सीमापार क्षेप्यास्त्र, ड्रोन र समुद्री मार्गलाई दबाबको माध्यम बनाएका छन्। यस संघर्षको प्रभाव तीन तहमा देखिएको छ। पखिलो, विमानस्थल र अन्य संरचनामा आक्रमण हुँदा सर्वसाधारणको ज्यान जोखिममा परेको छ।
दोस्रो, उडान अवरुद्ध हुँदा यात्रु, कामदार र अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएका छन्। तेस्रो, रेड सी र बाब अल–मन्देब जलमार्गमा तनाव बढ्दा विश्वव्यापी ऊर्जा आपूर्ति र समुद्री व्यापारमा थप अवरोध आउन सक्ने जोखिम बढेको छ।
अमेरिकाले युद्धमा प्रत्यक्ष रूपमा सहभागी हुने निर्णय गर्छ कि गर्दैन भन्ने विषयले पनि आगामी घटनाक्रमलाई प्रभावित पार्न सक्छ। त्यस्तै, इरानले वार्ताका लागि सहजीकरण गर्न सक्ने संकेत र क्षेत्रीय देशहरूले देखाएको कूटनीतिक सक्रियताले तनाव कम गर्ने अवसर प्रदान गर्न सक्छ तर त्यसका लागि साउदी अरेबिया, हुथी विद्रोही र उनीहरूलाई समर्थन गर्ने क्षेत्रीय शक्तबिच वार्ता अघि बढ्न आवश्यक छ।
अहिलेको मुख्य चुनौती नागरिकको सुरक्षा सुनिश्चित गर्नु, विमानस्थल र समुद्री मार्गलाई सुरक्षित बनाउनु तथा यमनको लामो समयदेखिको राजनीतिक विवादको समाधान खोज्नु हो। सैन्य कारबाही थप तीव्र भएमा यसको मानवीय र आर्थिक मूल्य अझ बढ्न सक्छ। त्यसैले नेपालसहित अन्तर्राष्ट्रिय समुदायले अघि सारेको संयमता, नागरिकको सुरक्षा र शान्तिपूर्ण समाधानको आग्रह आगामी दिनमा अझ महत्वपूर्ण बन्ने देखिन्छ।
– एजेन्सीको सहयोगमा
प्रकाशित: २८ आश्विन २०८३ ०६:५४ बुधबार





