गृहमन्त्री सुधन गुरुङ भारतको नयाँ दिल्लीमा आयोजित बिम्स्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी भएर बुधबार (आज) स्वदेश फर्कने भएका छन्।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार मंगलबार बैठकलाई सम्बोधन गर्दै गुरुङले आतंकवाद र सीमापार अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएका थिए। उनले सूचनाको सुरक्षित आदानप्रदान, समन्वयात्मक कदम र प्रतिबद्धता समयमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। विपद् तयारी र प्रतिकार्यका लागि संयुक्त कार्यदलसहितको बिम्स्टेक क्षेत्रीय ढाँचा बनाउन पनि उनले प्रस्ताव गरे।
बैठकका क्रममा गुरुङले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका थिए। भेटमा द्विपक्षीय सुरक्षा सहकार्य, सीमा व्यवस्थापन, सीमापार अपराध नियन्त्रण तथा विपद् तयारी र प्रतिकार्यमा सहकार्य बढाउने विषयमा छलफल भएको दूतावासले जनाएको छ।
भेटमा गुरुङले नेपालमा हालै आएको बाढीपहिरोपछि भारतले गरेको सहयोगप्रति धन्यवाद दिएका थिए। उनले आपसी सम्मान, विश्वास र समानताका आधारमा दुवै देशका जनताको हितमा सहकार्य अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
यसैगरी, बिम्स्टेकका महासचिव इन्द्रमणि पाण्डेले पनि गुरुङसँग भेट गरी संगठनका जारी काम र प्राथमिकताबारे जानकारी गराएका थिए। भेटमा गुरुङले क्षेत्रीय सुरक्षा, विपद् तयारी तथा प्रतिकार्य र समृद्धिका लागि साझा प्रतिबद्धता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए।
प्रकाशित: २८ आश्विन २०८३ ०७:०६ बुधबार


-600x400.jpg)
-600x400.jpg)

-600x400.jpg)