दैलेखको डुङ्गेश्वर गाउँपालिका–२, तल्लो डुङ्गेश्वर बजारस्थित कर्णाली राजमार्गमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्। दुर्घटनाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ।
शनिबार बिहान करिब ११ बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको भे १ ख ३७१० नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको भे १४ प ६७१४ नम्बरको मोटरसाइकल तल्लो डुङ्गेश्वर बजारमा आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा मोटरसाइकल चालक कैलाली ठेगाना भएका, अन्य वतन नखुलेका करिब ४० वर्षीय प्रेम रोकाय गम्भीर घाइते भएका छन्। उनको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि सडकमा सवारीसाधन आवागमन प्रभावित भई कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सडक खुलाउन आवश्यक पहल भइरहेको जनाइएको छ।
ट्रक चालकको नाम, ठेगाना तथा अन्य विवरण हालसम्म खुल्न सकेको छैन। दुर्घटनाको कारणबारे प्रहरी चौकी तल्लो डुङ्गेश्वर, दैलेखले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: २३ श्रावण २०८३ १२:०७ शनिबार





