चितवनको भरतपुर महानगरपालिकाका उपमेयरको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु भएको छ ।
भदौ २४ गते अपराह्न उप-मेयर चित्रसेन अधिकारीको घरमा आगो लगाउँदा ग्यास सिलिन्डर पड्किएर गम्भीर घाइते भएका भरतपुर-२१ का १९ वर्षका सरोज गुरुङको उपचारको क्रममा आज मृत्यु भएको हो ।
ग्यास पड्किएर गुरुङको टाउको, छाती र पेटमा चोट लागेको थियो । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको थियो । आगलागीबाट उपमेयर अधिकारीको घर पुर्णरुपमा क्षति पुगेको छ ।
यस्तै पूर्वी चितवनको भण्डारामा खानेपानी ट्याङ्कीको चेम्बरमा डुबेर एक जनाको मृत्यु भएको छ । आज बिहान राप्ती नगरपालिका-७ सिक्स ग्रुप स्थित अमृतपानी खानेपानी तथा सरसफाइ समितिको चेम्बर भित्र स्थानीय ४० वर्षका कमल घले डुबेर मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
प्रकाशित: २७ भाद्र २०८२ १७:४४ शुक्रबार





