हरिनगर गाउँपालिका–१ मा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २५ वर्षीय दीपक दास रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार भुटहाबाट हरिनगरतर्फ जाँदै गरेको प्रदेश ०१–०२–०५७ प ४८९९ नम्बरको मोटरसाइकललाई उखु बोकेर आइरहेको स १ ज ४९१४ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार दीपक दास र मिथुन दास गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते दीपक दासलाई उपचारका लागि अस्पताल लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। अर्का घाइते मिथुन दासको विराटनगरमा उपचार भइरहेको बताइएको छ।
घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। दुर्घटनामा संलग्न ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १ चैत्र २०८२ १०:५६ आइतबार





