रुपन्देहीको सियारी गाउँपालिकामा आइतबार बिहान मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, सियारी गाउँपालिका-७, भर्तापुरस्थित सडकखण्डमा ना.६ प ६६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मायादेवी गाउँपालिका-७, गरकट्टी निवासी ५५ वर्षीय राम मिलन धवलको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका धवललाई तत्काल उपचारका लागि भैरहवास्थित सिटी अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सिटी अस्पतालमै उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित: १८ श्रावण २०८२ १५:१० आइतबार





