मंगलबार साँझदेखिको अविरल वर्षाले इलाममा धनजनको क्षति गरेको छ । एक जनाको मृत्यु भएको छ भने विभिन्न सडक अवरुद्ध बनेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रोङ गाउँपालिका–४, मानाबुङमा स्थानीय ६० वर्षे वीरबहादुर राई (कान कम सुन्ने) को मृत्यु भएको छ । घरबाट करिब तीन सय मिटर पश्चिमस्थित बाटोमा पैदल हिँडिरहेका बेला खोल्सामा एक्कासि लेदोसहित पहिरो आएर पुरेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोले मेची राजमार्गका विभिन्न स्थानमा लेदो थुप्रिँदा सवारी साधन चल्न समस्या भइरहेको छ । इलाम नगरपालिका ११, सोयाकमा केचना–कञ्चनजंघा मार्गमा पहिरो झर्दा सवारी साधन चल्न बन्द भएका छन् । फाकफोकथुम गाउँपालिका–१, पचेवास्थित आमचोकदेखि घुर्बिसे पञ्चमी हुँदै राँके इलाम आउने भित्री कच्ची सडक अवरुद्ध छ । लेदोसहितको पहिरो झरी सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
माई नगरपालिका ९, सोक्तिमस्थित इलाम–बिर्तामोड भित्री सडक खण्डमा रुखसहित पहिरो झरेपछि बाटो अवरोध भएको छ ।
सूर्योदय नगरपालिका ६, हर्कटेबाट गुगल रिसोर्ट जाने बाटामा केसर कटवालको घरको माथिको भागबाट पहिरो गएको छ । इलाम नगरपालिका ९, गोलबस्तीका राकेश थापामगरको टिनको छानो र इँटा–माटोले बनेको २ तले घर आधा भत्किएको छ । वर्षाका कारण जीर्ण घरको दक्षिणतर्फको आधा भाग भत्किएको प्रहरीले जनाएको छ । घटनामा दुई जना घाइते भएका छन् ।
प्रकाशित: २८ श्रावण २०८२ १४:२९ बुधबार





