पर्साको वीरगन्जमा लागेको गहवामाई मेलामा मंगलबार राति दुई समूहबिच भएको झडपमा एक जनाको मृत्यु भएको छ।
दुई समूहका युवाहरूबिच भएको झडपमा गोल्डेन नाम गरेका व्यक्तिको मृत्यु भएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकले बताएका छन्। मृत्यु भएका गोल्डेनको ठेगाना खुल्न नसकेको उनले बताए।
घाइते भएका उनलाई नारायणी अस्पतालमा पुर्याउँदा डाक्टरहरूले मृत घोषणा गरेका थिए। मंगलबार राति ११ देखि १२ बजेको बिचमा गरिएको झडपमा संलग्न १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा तीन घटनामा प्रत्यक्ष संलग्नता देखिएको उनले बताए।
घटनाको मुख्य योजनाकार रहेको व्यक्तिको पहिचान गरिएको र उसलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको उनले भने। मुख्य योजनाकार पक्राउ परेपछि मात्रै घटनाको कारण खुल्ने प्रहरी उपरीक्षक पाठकले बताए।
झडप वीरगन्जकै गहवा टोल र कुम्हार टोलका युवाहरूबिच भएको स्थानीयहरूले बताएका छन्।
प्रकाशित: १५ आश्विन २०८२ ०९:१९ बुधबार





