बैतडीमा बसको ढोकबाट खसेर एक जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट बैतडीतर्फ आइरहेको सु.प.प्र.०२००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८ त्रिपुराका ६५ वर्षीय पदमराज भट्टको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। दशरथचन्द राजमार्गअन्तर्गत दशरथचन्द नगरपालिका–१ गुरुखोलास्थित मोडमा आज साँझ ४ः४० बजेतिर बसको ढोकाबाट खसेर भट्ट घाइते भएका थिए। तत्कालै उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याएको थियो। अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका उनले बताए।
मृतकको शव अस्पतालमै राखिएको छ। भट्टको टाउकोमा चोट रहेको र कानबाट अत्यधिक रगत बगेका कारण उनको मृत्यु भएको हुन सक्ने जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए।
बस र बस चालक दशरथ महरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २९ माघ २०८२ १९:०६ बिहीबार





