मकवानपुरको थाहा नगरपालिकामा भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ। थाहा नगरपालिका वडा नं-११ बस्ने अन्दाजी ४५ वर्षीय राजु तामाङ गोरेटो बाटोबाट लडेर मृत अवस्थामा फेला परेका हुन्।
२०८३ भदौ २२ गते साँझ करिब ५:२० बजे थाहा नगरपालिका-०२ स्थित मंगलेश्वर सामुदायिक वनको गोरेटो बाटोबाट करिब २० मिटर तल खसेको अवस्थामा तामाङको शव फेला परेको प्रहरीले जनाएको छ। उक्त बाटोले थाहा नगरपालिकाको वडा नं-२ र ११ लाई जोड्ने गर्दछ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्द प्रसाद भण्डारीको कमाण्डमा घटनास्थल जाँच प्रविधिसहितको प्रहरी टोली खटिएको थियो।
घटनास्थलको प्रारम्भिक प्रकृति हेर्दा भिरबाट लडेर नै मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको इलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ।
प्रकाशित: २२ भाद्र २०८३ १९:४५ सोमबार





