२२ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

‘जेनजीको बलिदानी खेर नजाओस्’

मुलुकमा सुशासन कायम र भ्रष्टाचारविरुद्ध नवपुस्ताको आह्वानमा गत वर्षको भदौ २३ गते भएको जेनजी आन्दोलन भोलि एक वर्ष पूरा हुँदैछ।

देशको आवश्यकता र आम जनताको मागलाई कार्यान्वयन गर्न दबाब सिर्जना गर्ने क्रममा आफ्ना सन्ततिको बलिदानीको असह्य पीडा जेनजी सहिद परिवारले भोगिरहेका छन्।

त्यस आन्दोलनका क्रममा देशका होनहार युवासहित ७६ जनाको निधन भएको थियो। त्यसमध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरी राज्यका तर्फबाट उनीहरुका परिवारलाई आर्थिक सहयोग र रोजगारी उपलब्ध गराइएको छ।

त्यस आन्दोलनका क्रममा काठमाडौंको नयाँ बानेश्वरमा भएको झडपमा सिन्धुली स्थायी घर भई चाँगुनारायण नगरपालिका–१ बस्दै आएका योगेन्द्र न्यौपाने (रोशन)सहितका युवाको गोली लागेर ज्यान गयो भने कैयौँ घाइते भए।

एक वर्षपछि भएको भेटमा योगेन्द्रकी सानीआमा तारा रोक्काले त्यो आन्दोलनको स्मरण गर्दै भनिन्, ‘अघिल्लो वर्ष भदौ २३ छोरालाई आन्दोलनमा गोली लागेको खबर सुनेपछि दौडेर अस्पताल पुग्दा ऊ बितिसकेको रहेछ।’

स्थानीय प्राथमिक विद्यालयका शिक्षक युवराज न्यौपाने र आमा लक्ष्मी न्यौपानेका जेठा छोरा योगेन्द्र अधिकृतको परीक्षाका लागि लोकसेवाको तयारीमा थिए।

सुशासन र भ्रष्ट्राचार विरुद्धको नव युवापुस्ताको आन्दोलमा सहभागी हुन बानेश्वर पुगेका उनलाई टाउकामा गोली लागेपछि घटनास्थलमा नै निधन भएको थियो।

छोराको सम्झनामा योगेन्द्रका बुबाले गोलन्जर–१ च्याकुटारबेँसीस्थित सुनकोशीको उकास जग्गामा ‘स्मृति पार्क’ निर्माण गरेका छन्। उक्त पार्कको भोलि उद्घाटन गरिने कार्यक्रम रहेको छ।

सानीआमा रोक्काले सरकारले सहिद परिवारलाई गरेको वाचा नभुल्न पनि अनुुरोध गरेकी छिन्।

त्यस्तै, भदौ २४ गतेको आन्दोलनमा सहिद भएका वैतडीका निरज पन्तकी धर्मपत्नी कमला एक वर्षदेखि पतिवियोगको पीडामा छिन् भने छोराछोरी पिता गुमाउन परेको असह्य वेदनामा छिन्।

कमलाले भनिन्, ‘परिवारको अभिभावक गुमाएपछि एक वर्षको यस अवधिमा भगवान्को प्राथना गर्ने, धैर्यधारणा गर्ने तथा पारिवारिक कर्तव्य पूरा गर्ने काममा लागिरहेको छु। वर्तमान सरकारले पीडाका बीचमा उपलब्ध गराएको सहुलियत र सुविधाप्रति धन्यवाद भन्न चाहन्छु।’

सरकारले निरजको निधनपछि परिवारलाई रु १५ लाख आर्थिक सहयोग र केही महिलाअघि देखि मासिक २८ हजार भत्ता उपलब्ध गराएको छ।

त्यस्तै, भदौ २४ गते सहिद भएका २२ वर्षीय अविशेक चौलागाईंका बुबा दिनेश चौलागाईंले सहिद परिवारसँग भएको सम्झौता पूर्ण कार्यान्वयनको माग गरेका छन्।

सम्झौतामा सहिद परिवारलाई शिक्षा, स्वास्थ्य र रोजगारी उपलब्ध गराउने लगायतका विषय उल्लेख थिए। उनले छोरालाई गोली लागेको खबर सुनेपछि हतारहतार निजामती अस्पतात पुगेर खोज्दा ‘बेडमा शव’ मात्र फेला परेको घटना सुनाए। त्यही दिन उनले नेपाल प्रहरीको जागिर छोडेका रहेछ।

दोलखाको सैलुङ गाउँपालिका–४ स्थायीवासी दिनेश चौलागाई र रीता चौलागाईंका एक्ला छोरा अविशेक आफ्ना परिवारसँग भक्तपुरकै चाँगुनारायण नगरपालिका–१ मा बस्दै आएबा थिए।

यसबीचमा सहिद परिवारको हितका लागि सहुलित, रोजगारी र भत्ता उपलब्ध गराउन सरकारले गरेको निर्णयलाई भने उनीहरुले सकारात्मक कदमका रुपमा लिएको प्रतिक्रिया दिएका छन्।

जेनजी आन्दोलनका क्रममा देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार, सर्वोच्च अदालत, नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन तथा सरकारी संरचनासहित महत्वपूर्ण सम्पदा तथा व्यापारिक भवन समेत जलेर क्षति भएको थियो।

नेपालका राजनीतिक इतिहासमा जेनजी आन्दोलन एउटा महत्वपूर्ण घटनाका रुपमा स्थापित भएको छ।

सोही आन्दोलनका जगमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित सरकारले छोटो समयसीमा भित्र गत फागुन २१ मा आम निर्वाचन गराई वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ सरकार गठनका लागि नेतृत्व हस्तान्तरण गरेका थिए।

उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभामा करिब दुई तिहाइ सिट जित्न सफल भएपछि पार्टीका वरिष्ठ नेता शाहलाई प्रधानमन्त्रीमा चयन गरेको हो।

नेपालमा सुशासन र भ्रष्टाचार विरुद्धको आन्दोलनका क्रममा ज्यान गुमाएका भक्तपुरका योगेन्द्र र अविषेक तथा वैतडीका निरजजस्ता जेनजी आन्दोलनका सहिदको सपना पूरा होस् भन्ने सहिद परिवारको चाहना रहेको छ।

प्रकाशित: २२ भाद्र २०८३ १९:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App