२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

जेन-जी आन्दोलनमा भागेका कैदीले बेचेको चोरीको मोटरसाइकलसहित एक पक्राउ

मकवानपुर प्रहरीले जेन-जी आन्दोलनका क्रममा काठमाडौंको केन्द्रीय कारागारबाट भागेका कैदीले चोरी गरी बेचेको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ।

बिहीबार हेटौंडा उपमहानगरपालिका–७ हरियाली सडकखण्डमा सवारी जाँचका क्रममा प्रहरीले कागजपत्र नभएको मोटरसाइकल फेला पारेपछि यो रहस्य खुलेको हो।

बा ४० प ४२९५ नम्बरको मोटरसाइकल चलाएर हिँडिरहेका हेटौँडा–१५ भोर्ले बस्ने २१ वर्षीय अभिषेक वाइबालाई प्रहरीले रोकेर चेकजाँच गरेको थियो।

सवारी धनी पुर्जा (ब्लुबुक) लगायतका कागजात नभेटिएपछि प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अनुसन्धान गर्दै जाँदा उक्त मोटरसाइकल वाइबालाई बेच्ने व्यक्ति राजेश खाती रहेको खुलेको छ।

हेटौँडा–१५ बस्ने २६ वर्षीय खाती जेन-जी आन्दोलनका क्रममा जेलबाट भागेका कैदी हुन्।

गत भदौ २३ र २४ गते भएको आन्दोलनको फाइदा उठाउँदै सुन्धरास्थित केन्द्रीय कारागारबाट खाती फरार भएका थिए।

जेलबाट भागेपछि उनले चोरीको मोटरसाइकल वाइबालाई बिक्री गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार फरार भएका राजेश खाती हाल पुनः पक्राउ परी कारागार कार्यालयमा थुनामा रहेका छन्।

प्रहरीले चोरीको मोटरसाइकल खरिद गरी चलाउने अभिषेक वाइबामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: १३ मंसिर २०८२ १७:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App