८ मंसिर २०८३ मंगलबार
image/svg+xml
समाज

काठमाडौंको दक्षिणढोकाबाट एक जना पक्राउ, सुन्धारा पठाइयो

काठमाडौंको दक्षिणढोकाबाट प्रहरीले एक जनालाई पक्राउ गरी केन्द्रीय कारागार सुन्धारा पठाएको छ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-१२ घर भई काठमाडौंको दक्षिणढोका बस्दै आएका २९ वर्षीय सागर बम्जनलाई प्रहरीले सोमबार दिउँसो करिब १ बजे गोकर्णेश्वर नगरपालिका-७ बाट पक्राउ गरेको हो।

लागुऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंको आदेशअनुसार पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा रहेका बम्जन २०८२ भदौ २४ गतेको घटनाका क्रममा फरार भएका थिए।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनलाई पक्राउ गरेपछि मंगलबार पुनः केन्द्रीय कारागार सुन्धारा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

यसैबिच, प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका-५, लोलाङ धितालथोकबाट ९७.६७० ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित २२ वर्षीय धिरज तामाङलाई पनि पक्राउ गरेको छ।

नुवाकोटको सूर्यगढी गाउँपालिका-२ घर भई धितालथोक बस्ने तामाङलाई सोमबार दिउँसो करिब ३ः१५ बजे लागुऔषध बिक्री भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ मंसिर २०८३ १९:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App