२२ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

विराटनगर रथयात्रामा संकलित भेटी बाढीपीडितलाई सहयोग गरिने

विराटनगरमा हालै सम्पन्न ऐतिहासिक ५९ औँ राधाकृष्ण रथयात्राका क्रममा भक्तजनबाट संकलित भेटी रकम बाढीपीडितको राहतका लागि प्रदान गरिने भएको छ। रथयात्रा मूल समारोह समितिका अनुसार यस वर्ष कुल २ लाख ८२ हजार ४१८ रुपैयाँ भेटी संकलन भएको छ।

रथयात्रामा संकलित भेटी रकम धार्मिक प्रयोजनमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व अन्तर्गत विपद्मा परेका नागरिकको सहयोगार्थ उपयोग गर्ने निर्णय गरेको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले बताए। उनले संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिने जानकारी दिए।

भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट ठूलो धनजनको क्षति भएपछि प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ। सोही अभियानमा सहयोग पुर्याउने उद्देश्यले रथयात्रामा संकलित भेटी रकम बाढीपीडितका लागि प्रदान गर्ने निर्णय भएको रेग्मीले बताए।

‘रथयात्रामा श्रद्धालु भक्तजनले आस्थापूर्वक चढाएको भेटीलाई यसपटक हामीले सामाजिक सेवामा लगाउने निर्णय गरेका छौं,’ संयोजक रेग्मीले भने, ‘यसले बाढीपीडितको राहत र पुनःस्थापनामा थोरै भए पनि सहयोग पुग्ने हाम्रो विश्वास छ। रथयात्राका क्रममा बाढीपीडितका लागि तीन वटा छुट्टाछुट्टै दानपेटिका राखिएको थियो। त्यसबाहेक खट र रथमा चढाइएको रकमसमेत बाढीपीडितका लागि पठाउने निर्णय भएको छ।’

समितिले धार्मिक आस्थासँग जोडिएको रथयात्राबाट संकलित रकम विपद्मा परेका नागरिकको सहयोगमा प्रयोग गरेर धार्मिक कार्यक्रमसँगै सामाजिक उत्तरदायित्वको सन्देश दिन खोजेको छ। विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट आयोजना हुने यो ऐतिहासिक रथयात्रा यस वर्ष ५९ औं संस्करणका रूपमा भव्यताका साथ सम्पन्न भएको थियो। रथयात्रामा हजारौं भक्तजनहरुको सहभागिता रहेको थियो।  

प्रकाशित: २२ भाद्र २०८३ १०:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App