१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

अब ‘क्यूआर कोड’ मा पाचल झरना

कालीकोटको पर्यटकीय गन्तव्य रहेको पचाल झरनाबारे क्यूआर कोडबाट जानकारी लिन सकिने भएको छ। आर्थिक वर्ष ०८२/८३ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका १०० वटा प्रमुख गन्तव्यमध्ये कालीकोटको पचालझरनालाई ६४औँ स्थानमा सूचीकृत गरेसँगै क्यूआर कोडबाट नै जानकारी लिन पाइने भएको हो।

नेपालको सबभन्दा अग्लो कालीकोटको पचालझरना नेपाल सरकारले पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको छ। यो सूचीकृत भएसँगै पचालझरनाबारे जानकारी दिन नेपाल पर्यटन बोर्डले क्यूआर कोड मार्फत पर्यटकलाई जानकारी दिने भएको छ।

पचालझरनाको प्रचारप्रसारका लागि नेपाल पर्यटन बोर्ड र यूएनडीपीको सहकार्यमा सूचना प्रविधिमैत्री क्यूआर कोड बनाएर पर्यटन बोर्डमा राखिएको र एउटा क्यूआर गाउँपालिकालाई हस्तान्त्रण गरेको पचालझरना गाउँपालिकाका उपाध्यक्ष अल्किना बमले बताए। ‘क्यूआर कोडको फ्रेम मैले बुझेर ल्याइसकेको छु,’ उनले भने, ‘यसले आन्तरिक र बाह्य पर्यटकलाई सूचना लिन सहज हुनेछ।’

कालीकोटको पचालझरना गाउँपालिका–७ र ४ मा पर्ने पर्यटकीय पचालझरना ३८१ मिटर अग्लो रहेको गाउँपालिकाले दाबी गर्दै आएको छ। त्यसअघि नेपालको सबभन्दा अग्लो भनिँदै आएको तेह्रथुमको ह्यातुङ झरनाको उचाइ ३६५ मिटर मात्र रहेको छ।

समुद्री सतहबाट ९७० मिटर उचाइमा रहेको एक ठाउँमा थोरै ठोकिएको लम्बाइ जोड्दा त पचालझरनाको लम्बाइ ४१५ मिटर रहेको गाउँपालिकाका प्राविधिक कुलप्रसाद न्यौपानेले बताए।

‘हामीले पचालझरनाको नापजाँच गर्दा ३८१ मिटर अग्लो रहेको छ,’ उनले भने, ‘बीचमा झरना ठोक्किएको भाग जोड्दा ४१५ मिटर अग्लो रहेको छ।’

पचाल झरनामा पुग्न कर्णाली करिडोरको लाफागाडबाट तीन घण्टा पैदल र एक घण्टा गाडीमा पुग्न सकिन्छ। झरनाको शिरमा डाँफे कालिज लगायतका चराचुरुङ्गी र घोरल, कस्तुरी, बनेल, हिमाली कालो भालु लगायतका वन्यजन्तु पाइने स्थानीय रामबहादुर ऐडीले बताए।

पर्यटकलाई खान, बस्न खार्दु गाउँका पाँच घरमा होमस्टे पनि सञ्चालन छन्। झरनासम्म पुग्न रेलिङसहितको गोरेटो बाटो निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले पर्यटन बोर्डको सहयोगमा थप पर्यटकीय क्षेत्रलाई व्यवस्थित गर्ने पर्यटकको आक्रर्षणको केन्द्र रूपमा राख्न काम गरिरहेको गाउँपालिका उपाध्यक्ष बमले बताए। ‘विगतदेखि नै पचालझरनाको पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न काम गरिरहेको थियौं,’ उनले भने, ‘अब यसको थप विकासका लागि पर्यटन बोर्डसँग मिलेर काम गर्नेछौं।’  

प्रकाशित: ८ श्रावण २०८२ १३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App