खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण भदौ १ गते सोमबारदेखि नियमित प्रक्रियाअनुसार सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका डिलर तथा बिक्रेतामार्फत हुने भएको छ।
नेपाल आयल निगमले आइतबार सूचना जारी गर्दै ग्यास आवश्यक पर्ने उपभोक्तालाई आफूलाई पायक पर्ने आधिकारिक बिक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न आग्रह गरेको छ।
ग्यासको बिक्री–वितरणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन निगमले पाँचबुँदे व्यवस्था लागू गरेको जनाएको छ। त्यसअनुसार ग्यास उद्योगहरूले दैनिक बिक्री गर्ने बिक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र बिक्री गरिने सिलिण्डरको संख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ बजेभित्र निगमलाई उपलब्ध गराउनुपर्नेछ।
त्यस्तै, ग्यास बिक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाणसँगै उपभोक्ताको नाम र सम्पर्क नम्बरसमेतको विवरण दैनिक रूपमा तयार गरी सम्बन्धित उद्योगलाई अनिवार्य रूपमा बुझाउनुपर्नेछ। उद्योगले उक्त विवरण सोही दिन नेपाल आयल निगमलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
निगमले घरायसी प्रयोजनका लागि ग्यास अत्यावश्यक भएका उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर बिक्री–वितरण गर्नसमेत निर्देशन दिएको छ।
ग्यास ढुवानी तथा वितरणका क्रममा सुरक्षासम्बन्धी समस्या नआओस् भन्ने उद्देश्यले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयमार्फत आवश्यक सहजीकरणका लागि अनुरोध गरिएको निगमले जनाएको छ।
त्यसैगरी, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग समन्वय गरी निगमबाट खटिएका कर्मचारीसमेत सहभागी संयुक्त टोलीमार्फत ग्यास बिक्री–वितरणको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ। यसले डिलरबाट हुने बिक्रीमा कालोबजारी, कृत्रिम अभाव वा अनियमितता हुन नदिन निगरानी बढाउने अपेक्षा गरिएको छ।
नजिकको बिक्रेताबाट कुनै कारणले ग्यास प्राप्त गर्न नसकेका र तत्काल ग्यास आवश्यक परेका उपभोक्ताले नेपाल आयल निगमको क्विक रेस्पोन्स टिम (क्यूआरटी) मा सम्पर्क गर्न सक्नेछन्।
त्यसका लागि निगमले ९८५१४५५१२४ र ९८५१४५५१२८ नम्बर सार्वजनिक गरेको छ।
निगमले उपभोक्तालाई अनावश्यक भीड नगर्न, आफूलाई पायक पर्ने बिक्रेतामार्फत नियमित प्रक्रियाबाट ग्यास खरिद गर्न र वितरणमा देखिएका समस्या तत्काल सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ।
प्रकाशित: ३१ श्रावण २०८३ २१:०६ आइतबार





