३१ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

आफ्नै नेतृत्वको सरकारबाट किन अपदस्थ भयौं, गम्भीर समीक्षा जरुरी छ: पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनमत वामपन्थी शक्तिबाट टाढिनु र आफ्नै नेतृत्वको सरकारबाट अपदस्थ हुनुपरेको यथार्थबारे निर्मम समीक्षा गर्नुपर्ने बताएका छन्।

विगतका कमजोरीहरूको गम्भीर समीक्षा नगरी वामपन्थी आन्दोलनको पुनर्गठन सम्भव नहुने उनको भनाइ छ। समाजवाद अध्ययन केन्द्र नेपालद्वारा काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ? राष्ट्रिय बहस !’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै महासचिव पोखरेलले जनमत आफूहरूबाट विमुख हुनुको मुख्य कारण पहिचान गर्नुपर्ने औँल्याए।

‘कम्युनिस्ट पार्टीकै नेतृत्व रहेको बेला सरकारबाट अपदस्थ हुनुपरेको छ,’ महासचिव पोखरेलले भने, ‘यो यथार्थलाई गम्भीर समीक्षा नगरी वामपन्थी आन्दोलनलाई पुनर्गठन गर्न सम्भव छैन।’

नेपालको वामपन्थी आन्दोलनले हालसम्म ६ जना प्रधानमन्त्री र २१ जना मुख्यमन्त्री जन्माइसकेको ऐतिहासिक पृष्ठभूमि स्मरण गराउँदै उनले यति ठूलो जनआधार र राजनीतिक प्रभाव भएको शक्ति कमजोर हुनुको गम्भीर कारण खोज्नुपर्ने बताए।

‘नेपालको कम्युनिस्ट आन्दोलन सामान्य थिएन,’ पोखरेलले थपे, “विगतका राजनीतिक अभ्यास, जनतासँगको सम्बन्ध तथा जनमतमा आएको परिवर्तनको वस्तुनिष्ठ समीक्षा गरेर मात्रै वामपन्थी आन्दोलनलाई नयाँ आधारमा पुनर्गठन गर्न सकिन्छ।’

कार्यक्रममा नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसाल, नेकपाका नेता शक्तिबहादुर बस्नेत, एमाले नेता कर्ण थापा तथा राष्ट्रियसभा सदस्य गणेश विकलगायत शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: ३१ श्रावण २०८३ २०:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App