बैतडीको पाटन नगरपालिकाले आज पाटन बजार क्षेत्रमा अनुगमनका क्रममा रु ४५ हजार बराबरको अखाद्य सामग्री बरामद गरी नष्ट गरिएको छ । नगर उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक कमलसिंह बोहराको नेतृत्वमा रहेको अनुगमन समितिले विभिन्न पसलबाट म्याद नाघेका अखाद्य सामग्री बरामद गरी नष्ट गरिएको हो ।
उपप्रमुख बोहराले अनुगमनका क्रममा चाउचाउ, बिस्कुट, नमकिन, चिप्स, मसला, चिउरालगायत म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरिएको बताए । त्यसक्रममा उपभोग्य मिति हेरेर मात्रै खरिद–बिक्री गर्न र सम्बन्धित निकायमा दर्ता तथा नवीकरण नभएका पसललाई तत्काल दर्ता तथा नवीकरण गर्न आग्रह गरिएको उनले जानकारी दिए ।
अनुगमन समितिले कुनै पनि सामग्री खरिद गर्दा उत्पादन मिति र उपभोग्य मिति हेरेर मात्रै खरिद गर्न उपभोक्तालाई समेत आग्रह गरेको छ ।
प्रकाशित: २१ चैत्र २०८२ २०:४७ शनिबार





