३० श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

कास्कीको विजयपुर खोलामा बगेर बेपत्ता हुने निक्सन र यमन

कास्कीको बिजयपुर खोलाले बगाएर दुई जना बालक बेपत्ता भएका छन् । पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिकैबाट विजयपुर खोला तर्ने क्रममा दुई बालक बेपत्ता भएको कास्की प्रशासनले जनाएको हो । 

१०/१२ जना साथीहरु मिलेर खोलापारी गएको र फर्किने क्रममा उनीहरुलाई बगाएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए ।

शनिबार दिउँसो करीब १ बजेतिर खोला तर्ने क्रममा पोखरा–१४ छिनेडाँडाका १६ वर्षिय निक्सन गुरुङ र पोखरा–१४ चाउथेका १५ वर्षिय यमन राई खोलाले बगाएर बेपत्ता भएको सहायक सिडिओ बरालले बताए । 

उनका अनुसार गुरुङ स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका–७ घर भई हाल पोखरा–१४ छिनेडाँडास्थित आर्मी पल्टनमा बस्दै आएका चन्द्रबहादुर गुरुङका छोरा हुन् । राई भने खोटाङ घर भई चाउथेमा बस्दै आएको उनको भनाई छ ।

बेपत्ता बालकहरुको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली गोताखोरसहित परिचालित भएको ईलाका प्रहरी कार्यालय सिसुवाका ईञ्चार्ज प्रहरी नायव उपरीक्षक गुणराज बुढाथोकीले जानकारी दिए । 

अविरल वर्षापछि बिजयपुर खोला बढेकाले खोजीमा समस्या उत्पन्न भएको कास्की प्रशासनले जनाएको छ । ‘तर खोलामा आउने नहरको पानी बन्द गरेर खोजी शुरु गर्दैछौं’–उनले भने ।

प्रकाशित: ३० श्रावण २०८३ १७:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App