भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औं स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएकोमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई धन्यवाद व्यक्त गरेका छन्।
शनिबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रधानमन्त्री शाहको शुभकामना सन्देशलाई उद्धृत गर्दै मोदीले आभार प्रकट गरेका हुन्।
प्रधानमन्त्री मोदीले दुई देशका जनताको समृद्धि र कल्याणका लागि नेपाल-भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउन मिलेर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
‘दुवै देशका जनताको पारस्परिक समृद्धि र हितका लागि नेपाल र भारतबीचको बहुआयामिक तथा युगौं पुरानो सभ्यतागत सम्बन्धलाई अझ सुदृढ बनाउन हामी सँगै काम गर्न प्रतिबद्ध छौँ,’ प्रधानमन्त्री मोदीले लेखेका छन्।
यसअघि प्रधानमन्त्री कार्यालयको आधिकारिक ‘एक्स’ ह्यान्डलमार्फत प्रधानमन्त्री बालेन्द्र शाहले भारतको ८०औं स्वतन्त्रता दिवसका अवसरमा भारतीय समकक्षी मोदी, भारत सरकार र त्यहाँका जनतालाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
प्रधानमन्त्री शाहले आफ्नो सन्देशमा नेपाल र भारतबीचको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको प्रगाढ सम्बन्ध तथा दुईपक्षीय सहकार्य निरन्तर अघि बढिरहने विश्वास व्यक्त गरेका थिए।
प्रकाशित: ३० श्रावण २०८३ १७:२९ शनिबार





