२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

निर्मल पुर्जाको अन्त्येष्टि बेलायतमा गरिने

पाकिस्तानको ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को अन्त्येष्टि बेलायतमा गरिने भएको छ। परिवार लन्डनमा बसोबास गर्दै आएकाले धार्मिक परम्पराअनुसार उनको अन्तिम संस्कार उतै गर्ने तयारी गरिएको हो।

साउन १४ गते ब्रड पिक आरोहणका क्रममा गएको भीषण हिमपहिरोमा पुर्जासहित अन्य आरोहीहरू परेका थिए। १० सदस्यीय आरोही टोलीको नेतृत्व गरिरहेका पुर्जाको शव साउन १७ गते पहिचान भए पनि प्रतिकूल मौसम र शव रहेको स्थान अत्यन्त जोखिमपूर्ण भएकाले उद्धारमा ढिलाइ भएको थियो।

उनको कम्पनी एलिट एक्सपिडिसनले बुधबार जारी गरेको विज्ञप्तिअनुसार निर्मल पुर्जा, निमा शेर्पा, झोङ वाङ र किलु शेर्पाको शव चुनौतीपूर्ण उद्धार अभियानपछि ब्रड पिकबाट सुरक्षित रूपमा बेसक्याम्पमा ल्याइएको छ। ती शव शुक्रबार राति वा शनिबारसम्म लन्डन पुर्‍याइने तयारी रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार लन्डन पुगेपछि कानुनी प्रक्रिया पूरा गरी परिवारको उपस्थितिमा अन्तिम श्रद्धाञ्जली तथा अन्त्येष्टि गरिनेछ। उद्धार अभियानमा पाकिस्तान सरकार, पाकिस्तान आर्मी, ब्रिटिस हाइ कमिसन, गिल्गिट–बाल्टिस्तान सरकार, नेपाल दूतावास तथा अल्पाइन क्लब अफ पाकिस्तानले सहयोग गरेका थिए।

निर्मल पुर्जाले सन् २००३ मा पोखरास्थित ब्रिटिस क्याम्पबाट छनोट भई ब्रिटिस सेनामा प्रवेश गरेका थिए। उनले बेलायतको क्याट्रिकस्थित आर्मी ट्रेनिङ सेन्टरमा आधारभूत सैन्य तालिम पूरा गरेपछि क्विन्स गोर्खा इन्जिनियर्समा सेवा गरेका थिए। पछि बेलायतको रक्षा मन्त्रालयमा पर्वतीय विज्ञका रूपमा कार्यरत रहँदै ‘गोर्खा एक्सपिडिसन २०१७’ अन्तर्गत १३ जना ब्रिटिस गोर्खाको सगरमाथा आरोहण अभियानको नेतृत्व गरेका थिए।

प्रकाशित: २१ श्रावण २०८३ १६:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App