३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

रविलाई जमानतमा छोड्न माग गर्दै निकिता उच्चमा, श्रीमान जेलमा सुरक्षित नरहेको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गरी जमानतमा रिहा गर्न माग गर्दै उनकी पत्नी निकिता पौडेलले उच्च अदालतको ढोका ढक्ढक्याएकी छन्।

जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि पौडेलले उक्त आदेशविरुद्ध सोमबार उच्च अदालत बुटवलमा पुनरावेदन गरेकी हुन्।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पौडेलले आफ्नो श्रीमान् कारागारभित्र सुरक्षित नरहेको भन्दै चिन्ता व्यक्त गरेकी छन्।

उनले लामिछानेविरुद्ध लगाइएको आरोपमा बिगो कायम गरी सो बराबरको बैंक जमानत लिएर उनलाई जेल बाहिरबाटै मुद्दा लड्ने अवसर दिन माग गरेकी छन्।

‘आज मैले उच्च अदालत, बुटवलको ढोका पनि ढक्ढक्याएँ,’ उनले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छन्, ‘न्याय पाइयोस् कि नपाइयोस्, म संविधान र कानुनले अनुमति दिएका देशभित्र र बाहिरका न्यायका हरेक ढोका ढक्ढक्याउने छु।’

आफ्नो श्रीमानको जीवनरक्षाप्रति शंका व्यक्त गर्दै उनले भैरहवा कारागारमा राखिएको अवस्था र जेल सार्न गरिएको आनाकानीप्रति प्रश्न उठाएकी छन्। उनले लेखेकी छन्, ‘मैले हिजो पनि भनेकी हुँ र आज पनि भन्छु, मेरो श्रीमानको जीवन सुरक्षित छैन। यिनीहरुले किन जेल सार्न मानिरहेका थिएनन्, यिनिहरुको नियत के थियो, त्यो पनि बताइरहन पर्दैन।’

पौडेलले सत्ता र शक्तिको दुरुपयोग गरी लामिछानेलाई फसाइएको आरोप लगाउँदै प्रधानमन्त्रीदेखि महामन्त्रीसम्मले संसदबाटै धम्की दिएको बताएकी छन्।

‘आफैले झुटा मुद्दा लगाएर, सत्ता र शक्तिको चरम दुरुपयोग गरेर जेलमा थुनेको एउटा बन्दीलाई प्रधानमन्त्रीदेखि महामन्त्रीसम्मले संसद्को रोष्ट्रमबाट किन धम्क्याइरहेका होलान्, त्यो पनि अब मैले भनिरहन पर्दैन,’ उनको भनाइ छ।

उनले आफ्नो श्रीमानको भनाइ उद्धृत गर्दै लेखेकी छन्, ‘यो देशमा शक्ति पृथकीकरण समाप्त भएको धेरै भइसक्यो, एउटै रावणका फरक टाउका गन्न छाडिदेउ।’

लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएपछि जिल्ला अदालत रुपन्देहीले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सोही आदेश खारेजको माग गर्दै पौडेल उच्च अदालत पुगेकी हुन्।

प्रकाशित: ९ भाद्र २०८२ १६:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App