नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुख्र्यौली गाउँमा शुक्रबार उत्सव मनाइएको छ। महोत्तरीको एकडारा गाउँपालिका–१ स्थित पुर्ख्यौली गाउँ एकडारामा गाउँवासीले उत्सव मनाइएको हो।
एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डलले शाह देशकै प्रमुख कार्यकारी पद (प्रधानमन्त्री) मा नियुक्त हुँदा जिल्लामै खुसीयाली मनाइएको बताए। ‘एकडारा–१ मात्र होइन् जिल्लावासीले नै खुसियाली साटासाट गर्दै उत्सव मनाइरहेका छन्’, उनले भने।
राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई आज प्रधानमन्त्रीमा नियुक्त गरेसँगै एकडारावासी एकापसमा रङ, अबिर दलेर, फूलमाला लगाएर, एकापसमा अँगालो मारेर र शुभकामना तथा बधाई आदानप्रदान गरिरहेका एकडारा–१ का वडाध्यक्ष मनोज मण्डलले बताए।
वडाध्यक्ष मण्डलका अनुसार एकडाराको नाम इतिहासमा दर्ज भएको भन्दै पुख्र्यौली गाउँमा उत्सव मनाइएको छ। ‘आज एकडारावासी घरघरमा मीठो पकवान पकाएर खाने, खुवाउने गर्दैछन्, एकडारा गाउँभरि र बटुवालाई विभिन्न लड्डु, पेडा तथा मिठाइ बाँड्ने काम भइरहेको छ’, उनले भने।
प्रधानमन्त्री शाहको घर एकडारा–१ मा पर्छ। उक्त घरमा हाल एकडारा गाउँपालिकाको कार्यालय सञ्चालनमा छ। आज साँझ एकडाराको घरघरमा दीपावली मनाउने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष मण्डलले बताए।
प्रकाशित: १३ चैत्र २०८२ १३:०९ शुक्रबार





