नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल बढाउँदै सरकार र आमजनसमुदायको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गेका छन्। गृह मन्त्रालयमा आज आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षको दर्ज्यानी चिह्न लगाएपछि सङ्क्षिप्त मन्तव्य राख्दै उहाँले सङ्गठनमा सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गरिने बताए।
'अपराध र सुरक्षा चुनौतीहरुका पारस्पिरिक प्रवृत्तिमा भएको परिवर्तन, सूचना प्रविधिको द्रूत्तर विकास र सुशासनको जनअपेक्षा अनुरुपको उच्च मनोबलयुक्त प्रहरी चरित्र र क्षमता निर्माण गरी प्रभावकारी सेवा प्रवाह गर्नु सरकार र प्रहरी सङ्गठनको साझा दायित्व हो,' प्रहरी महानिरीक्षक कार्कीले भने।
जेनजी आन्दोलनलगत्तैको सुरक्षा प्रतिकुलतामा पनि कुनै सुरक्षा रिक्तता हुन नदिई तत्काल नागरिकको सेवामा परिचालित भएको जानकारी गराराउँदै उनले छोटो समयमा प्रहरीका संरचना र सेवा पुनःस्थापनामा देखिएको सक्रियताले प्रहरीको भूमिका स्पष्ट भएको बताए।
२८ वर्ष आफूले प्रहरी सङ्गठनमा निर्वाह गरेको भूमिकाको कदर गर्दै प्रहरी सङ्गठनको नेतृत्व गर्ने अवसर प्रदान गरेकामा उनले सरकारप्रति आभार प्रकट गरे।
समारोहमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दज्र्यानी चिह्न प्रदान गरेका थपए। ३० वर्षे सेवा अवधि पूरा गरी प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ अनिवार्य अवकाशमा गएपछि सरकारले प्रहरी अतिरिक्त महानिरीक्षकमध्येबाट वरिष्ठतम् कार्कीलाई प्रहरी सङ्गठनको प्रमुख बनाउने निर्णय गरेको थियो।
समारोहमा राष्ट्रिय अनुन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका उच्चपदस्थ कर्मचारी सहभागी थिए।
प्रकाशित: २७ कार्तिक २०८२ १२:२६ बिहीबार





