जिल्लाभित्रका छोरीहरूको हक, अधिकार र नेतृत्व विकासलाई संस्थागत गर्दै सामाजिक विकृति तथा विभेदविरुद्ध एकीकृत आवाज उठाउने उद्देश्यसहित छोरी सञ्जाल जुम्लाले नयाँ नेतृत्व चयन गरेको छ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यको विशेष आतिथ्यमा सम्पन्न बैठकले सुस्मा हमाललाई सर्वसम्मत रूपमा जिल्ला अध्यक्ष चयन गरेको हो। तिला गाउँपालिका–४ की स्थायी बासिन्दा हमालको नेतृत्वमा गठन गरिएको नौ सदस्यीय जिल्ला समितिको उपाध्यक्षमा चन्दननाथ–७ मिचाकी करुणा सार्की, सचिवमा कनकासुन्दरी–२ बोताकी स्मृति रावत, कोषाध्यक्षमा गुठीचौर–५ देपालगाउँकी मंगला भट्ट तथा सहसचिवमा तातोपानी–१ राँका गाउँकी मञ्जु सार्की चयन भएका छन्।
समितिका सदस्यहरूमा तिला–५ ढिमकोटकी मेनिका शाही, तातोपानी–१ राँकागाउँकी लक्ष्मी सार्की, चन्दननाथ–१ कुलालबाडाकी रितु कुलाल तथा कनकासुन्दरी गाउँपालिका–१ बुम्रमाडीचौरकी आस्था भण्डारी रहेका छन्। जिल्लाका विभिन्न स्थानीय तह र समुदायबाट छोरीहरूको प्रतिनिधित्व सुनिश्चित हुने गरी समिति गठन गरिएको जनाइएको छ।
नवनिर्मित समितिको पहिलो बैठकले जिल्लाभित्र रहेका किशोरी तथा युवतीहरूको सहभागिता र प्रतिनिधित्वलाई थप सशक्त बनाउने, स्थानीय तहसँग सहकार्य तथा समन्वय गर्दै बालविवाह, लैंगिक हिंसा, सामाजिक विभेद तथा छोरीमाथि हुने विभिन्न प्रकारका असमान व्यवहारविरुद्ध सचेतनामूलक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। साथै सञ्जाललाई सक्रिय र प्रभावकारी बनाइराख्न वार्षिक रूपमा तीनदेखि छ महिनाको अन्तरालमा नियमित बैठक गर्ने निर्णयसमेत गरिएको छ।
बैठकलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले छोरीहरूको प्रगति, सशक्तीकरण र सफलतासँग समाज र राष्ट्रको समग्र विकास प्रत्यक्ष रूपमा जोडिएको बताए। उनले शिक्षित, सक्षम र आत्मनिर्भर छोरीहरू सामाजिक रूपान्तरणका महत्वपूर्ण संवाहक भएको उल्लेख गर्दै बालविवाह, लैंगिक हिंसा तथा सामाजिक विभेदजस्ता समस्याको अन्त्यका लागि छोरी सञ्जालले नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
उनले छोरीहरूको आवाजलाई नीति निर्माण र निर्णय प्रक्रियासम्म पुर्याउन यस्ता सञ्जालहरू प्रभावकारी माध्यम बन्न सक्ने उल्लेख गर्दै स्थानीय सरकार, सरोकारवाला निकाय र समुदायबीच सहकार्यलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए।
बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख जनक थकाली, जिल्ला समन्वय अधिकारी रोमबहादुर महतसहित विभिन्न सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो। नयाँ नेतृत्व चयनसँगै जिल्लामा छोरीहरूको अधिकार, अवसर र नेतृत्व विकासका सवाललाई संगठित रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
प्रकाशित: ४ असार २०८३ ०८:५७ बिहीबार





