पूर्वराजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणालाई दाइजोका रूपमा दिएको छाउनीस्थित घरजग्गा आफ्नो नाममा ल्याउन नेपाल ट्रस्टले गृहसँग सहयोग मागेको छ । सर्वोच्च अदालतले २०७६ माघमा छाउनीस्थित १५ रोपनी जग्गा र त्यसमा बनेको घर नेपाल ट्रस्टको हुने फैसला सुनाएपनि प्रेरणा शाहले अटेरी गर्दे आएकी थिइन्।
फैसलाबमोजिम सरकारले ट्रस्टका नाममा उक्त घरजग्गा ल्याउन प्रक्रिया अघि बढाएको हो। भूमि व्यवस्था मन्त्रालयले पनि उक्त घरजग्गा ट्रस्टका नाममा ल्याउन ताकेता गर्दै आएको छ। सरकारले प्रेरणालाई २०७७ पुस ७ मा अन्तिम पटक ६ महिनाका लागि उक्त घरजग्गा प्रयोग गर्न दिने निर्णय गरेको थियो। तर उनले अहिलेसम्म घरजग्गा छाडेकी छैनन्।
छाउनीस्थित एक अर्ब २० करोड रुपैयाँ बराबरको सो सम्पत्ति नेपाल ट्रस्ट मातहत ल्याउन सरकारले एक वर्षअघि थालेको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। ‘नेपाल ट्रस्टले त्यहाँको घरजग्गा खाली गराई आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन भनेर गृह मन्त्रालयलाई पत्राचार गरेको छ, सायद चाडै नै खाली हुनेछ,’ नेपाल ट्रस्टका प्रवक्ता लोक न्यौपानेले भने।
उनका अनुसार प्रेरणालाई त्यहाँको घरजग्गा खाली गरिदिन पटक पटक सूचना दिएको छ। प्रेरणाले अटेर गरेपछि ट्रस्टले गृह मन्त्रालयलाई जग्गा खाली गराइदिन र सुरक्षा व्यवस्था मिलाइदिन पत्राचार गरेको उनले बताए। ‘नेपाल ट्रस्टले घरजग्गा खाली गर्न दिएको समयसीमा सकिएको छ। समयसीमा सकिँदा पनि खाली नभएका कारण गृह मन्त्रालयलाई पत्राचार गर्नुपरेको हो’, प्रवक्ता न्यौपानेले भने।
राजा वीरेन्द्र शाहका नाममा रहेको उक्त घरजग्गा ज्ञानेन्द्रले छोरी प्रेरणालाई दाइजो दिएका थिए। २०५८ जेठ १९ को दरबार हत्याकाण्डमा वीरेन्द्रको वंश नाश भएपछि उनका भाइ ज्ञानेन्द्र राजा भएका थिए। नेपालमा गणतन्त्र स्थापनापछि २०६४ सालमा सरकारले राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूको परिवारका सदस्यका नाममा रहेको सबै सम्पत्ति नेपाल ट्रस्टका नाममा ल्याउने निर्णय गरेको थियो। त्यसको सात वर्षपछि २०७१ सालमा प्रेरणाले सर्वोच्च अदालतमा सरकारको उक्त निर्णयविरुद्ध मुद्दा हालेकी थिइन्। मुद्दा लम्बिँदै जाँदा उक्त सम्पत्ति ट्रस्टका नाममा ल्याउन विलम्ब भएको हो।
प्रकाशित: १२ श्रावण २०८२ ०८:४६ सोमबार





