नेपालको पर्यटन क्षेत्र विश्वमै तीव्र गतिमा सुधार गर्ने देशको सूचीमा परेको छ।
विश्व आर्थिक मञ्च (डब्ल्युईएफ) को २०२६ को यात्रा तथा पर्यटन विकास सूचकांक (टीटीडीआई) अनुसार सन् २०२४ देखि २०२६ बिच नेपालको पर्यटन सूचकांक स्कोर ५.१ प्रतिशतले सुधार भएको छ।
नेपाल ५.१ प्रतिशत सुधारसहित सबैभन्दा छिटो सुधार गर्ने शीर्ष १० अर्थतन्त्रको सूचीमा नवौँ स्थानमा परेको छ। यो सूचीमा अल्बानिया ७ प्रतिशत सुधारसहित पहिलो, भियतनाम ६.३ प्रतिशतसहित दोस्रो, लाओस् ६.१ प्रतिशतसहित तेस्रो र कतार ६ प्रतिशतसहित चौथो स्थानमा छन्। मलेसिया ५.८, थाइल्यान्ड ५.६, फिलिपिन्स र मोरक्को ५.५ प्रतिशत सुधारसहित क्रमशः पाँचौँ, छैटौँ, सातौँ र आठौँ स्थानमा छन्। श्रीलंका ४.३ प्रतिशत सुधारसहित १०औँ स्थानमा छ।
यसैगरी, समग्र पर्यटन प्रतिस्पर्धात्मकतामा जापान विश्वका शीर्ष १० देशमध्ये पहिलो स्थानमा छ। अमेरिका दोस्रो, स्पेन तेस्रो, अस्ट्रेलिया चौथो, फ्रान्स पाँचौँ, जर्मनी छैटौँ, बेलायत सातौँ, चीन आठौँ, स्विट्जरल्यान्ड नवौँ र इटाली १०औँ स्थानमा छन्।
जापानले सन् २०२५ मा चार करोड २७ लाख अन्तर्राष्ट्रिय पर्यटक भित्र्याएको थियो। प्रमुख सहर र पर्यटकीय क्षेत्रबाहेक अन्य क्षेत्रलाई समेत प्रवर्द्धन गर्ने रणनीतिले पर्यटक संख्या बढाउन सहयोग गरेको प्रतिवेदनले बताएको छ। जापानमा पर्यटक खर्च २०२५ मा ५९.७ अर्ब डलर पुगेको थियो।

डब्ल्युईएफले पर्यटन क्षेत्रको सुधारमा संस्कृति, पर्यटन पूर्वाधार र हवाई सम्पर्कको महत्त्वपूर्ण भूमिका रहेको बताएको छ। सन् २०२४ देखि २०२६ बिच सूचकांकका १७ मध्ये १४ क्षेत्रमा सुधार भएको छ। सांस्कृतिक स्रोतसाधनमा मात्रै ९.६ प्रतिशत सुधार भएको प्रतिवेदनमा उल्लेख छ।
डब्ल्युईएफका अनुसार २०२४ देखि २०२६ बिच टीटीडीआईमा समेटिएका ११० अर्थतन्त्रमध्ये ९२ प्रतिशतको पर्यटनसम्बन्धी स्कोर सुधार भएको छ। यस अवधिमा औसत स्कोर २ प्रतिशतले बढेको छ, जुन सन् २०१९ पछिको सबैभन्दा तीव्र सुधार हो।
पर्यटन क्षेत्रमा एसिया-प्रशान्त र मध्यपूर्व तथा उत्तर अफ्रिका क्षेत्रले सबैभन्दा तीव्र सुधार गरेका छन्। एसिया-प्रशान्त क्षेत्रमा ३.६ प्रतिशत र मध्यपूर्व तथा उत्तर अफ्रिका क्षेत्रमा २.५ प्रतिशत सुधार भएको प्रतिवेदनले बताएको छ। तीव्र सुधार गर्ने १० अर्थतन्त्रमध्ये सात एसिया-प्रशान्त क्षेत्रका विकासशील देश छन्।
डब्ल्युईएफका अनुसार सन् २०२५ मा विश्वभर १.५ अर्ब अन्तर्राष्ट्रिय पर्यटक आगमन भएको थियो। यो संख्या २०२४ को तुलनामा ५ प्रतिशत र सन् २०१९ को तुलनामा ४.४ प्रतिशत बढी हो। त्यस्तै, यात्रा तथा पर्यटन क्षेत्रले २०२५ मा विश्व अर्थतन्त्रमा ११.६ ट्रिलियन डलर योगदान गरेको थियो भने ३६ करोड ६० लाख रोजगारीलाई सहयोग गरेको थियो।
प्रतिवेदनले उदीयमान पर्यटन अर्थतन्त्रहरूले स्थापित गन्तव्यको तुलनामा तीव्र गतिमा सुधार गरिरहेको जनाएको छ। प्रतिस्पर्धी मूल्य, प्राकृतिक सम्पदा र दिगो पर्यटनको बढ्दो मागले यस्ता देशलाई फाइदा पुगेको डब्ल्युईएफले बताएको छ।
प्रकाशित: ११ आश्विन २०८३ ०८:३५ आइतबार





