२९ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

भग्नावशेष पन्छाउँदै मानसिक घाउमा मलम लगाउँदै प्रहरी

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएको बस्ती र भग्नावशेषमा परिणत भएको जनजीवनलाई लयमा फर्काउन नेपाल प्रहरीले स्थलगत पुनरुत्थानसँगै मनोवैज्ञानिक मलम लगाउने विशेष अभियान चलाएको छ।

टिमुरेदेखि त्रिवेणीसम्म सञ्चालित ‘टी-टु-टी’ अपरेसनमार्फत प्रहरीले भौतिक पुनर्निर्माण, नागरिकको सम्पत्ति सुरक्षा र मानसिक परामर्शलाई एकसाथ अघि बढाएको हो।

प्रहरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बाढी प्रभावित जिल्लाहरूमा हालसम्म १ सय ९६ वटा विशेष कार्यक्रम सम्पन्न गरिसकेको छ। जसबाट ४७ हजार ७ सय ७४ जना नागरिक प्रत्यक्ष लाभान्वित भएका छन्।

बाढीका कारण घर, परिवार र सम्पत्ति गुमाउँदा ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाहरूमा गम्भीर मानसिक तनाव र आघात (ट्रमा) देखिएपछि प्रहरीले मनोपरामर्श सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डिआइजी) अबि नारायण काफ्लेका अनुसार सीमित स्रोत-साधनका बाबजुद प्रहरी टोली अहोरात्र फिल्डमा खटिएको छ।

‘पीडितका घरभित्र पसेको लेदो र ढुङ्गा-माटो पन्छाउने, भग्नावशेषबाट भेटिएका नगद तथा धनमाल सुरक्षित रूपमा धनीलाई बुझाउने तथा विद्यालय र स्वास्थ्य संस्था सफा गरी सञ्चालनयोग्य बनाउन प्रहरी निरन्तर सक्रिय छ,’ डिआइजी काफ्लेले भने, ‘भौतिक उद्धार मात्र पर्याप्त नहुने भएकाले विपद्ले सिर्जना गरेको मनोवैज्ञानिक त्रास हटाएर नागरिकलाई पूर्ववत् जीवनमा फर्काउन हामी लागिपरेका छौं।’

यसैगरी, बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरहरूमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुन सक्ने हिंसा, दुर्व्यवहार र शोषणविरुद्ध प्रहरीले विशेष सुरक्षा निगरानी बढाएको छ।

स्थानीय तह तथा सरोकारवालासँग समन्वय गरी राहत वितरणलाई पारदर्शी र व्यवस्थित बनाउनसमेत प्रहरीले सहजीकरण गरिरहेको छ।

वर्दीमै कोदालो र साबेल बोकेर नागरिकको घरआँगन सफा गर्न जुटेको प्रहरीको उपस्थितिले स्थानीयमा आत्मविश्वास जगाएको छ। ‘बाढीले घर बगायो, बचेका संरचना माटोले पुरिए,’ पीडा सुनाउँदै एक स्थानीय महिलाले भनिन्, ‘हामी एक्लै के गर्ने भनेर अलमलमा थियौं। प्रहरी आएर हिलो पन्छाउन र सामान सार्न थालेपछि ठूलो ढाडस मिलेको छ। उहाँहरूसँगै काम गर्दा छिटो पनि भएको छ र मनको डर पनि हटेको छ।’

प्रकाशित: २९ भाद्र २०८३ २०:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App