२९ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

काठमाडौंमा ठाउँ अभाव भएपछि पहिचान नभएका ६५ शवको नुवाकोटमै ‘वैज्ञानिक व्यवस्थापन’

भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाएकामध्ये पहिचान खुल्न नसकेका ६५ जनाको शव नुवाकोटमै वैज्ञानिक विधिबाट व्यवस्थापन गरिएको छ।

काठमाडौंस्थित शिक्षण अस्पतालमा शव राख्ने स्थान अभाव भएपछि विदुर नगरपालिका-६, खम्पाक्याम्पस्थित सुरक्षित जग्गामा ती शवहरूको सामूहिक तर व्यवस्थित समाधि गरिएको हो।

व्यवस्थापन गरिएका शवहरूमा रसुवाका विभिन्न स्थानबाट सङ्कलन गरिएका ६३ र नुवाकोटबाट फेला परेका २ वटा रहेका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) बिपीन रेग्मीका अनुसार ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम शवहरूको व्यवस्थापन गरिएको हो।

भविष्यमा आफन्त सम्पर्कमा आएमा शव सहजै पहिचान गरी हस्तान्तरण गर्न सकिने गरी अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसिआरसी) को मापदण्डअनुसार सम्पूर्ण वैज्ञानिक प्रक्रिया पूरा गरिएको छ।

‘खाडलमा राख्नुअघि प्रत्येक शवको डिएनए परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ। शव वा शवका टुक्रालाई विशेष प्रकारको ब्यागभित्र संकेत नम्बरसहित निश्चित दूरीमा गाडिएको छ,’ प्रहरी उपरीक्षक रेग्मीले भने, ‘भोलिका दिनमा डिएनए मेल खाएर शव निकाल्नुपरेमा सहज होस् भनेर जमिनको सतहमा कंक्रिट ढलान गरी संकेत नम्बर राखिएको छ र त्यसको जीपीएस नक्साङ्कनसमेत सुरक्षित गरिएको छ।’

गत भदौ १० गतेको बाढीपछि हालसम्म नुवाकोटमा २०२ र रसुवामा १८६ गरी कुल ३८८ वटा शव फेला परिसकेका छन्। तीमध्ये नुवाकोटमा १८ र रसुवामा १० जनाको मात्रै पहिचान खुलेपछि आफन्तलाई जिम्मा लगाइएको थियो।

बाँकी शव यसअघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएकोमा त्यहाँ ठाउँ अभाव भएपछि निर्देशिका अनुसार जिल्लामै व्यवस्थापन गर्ने निर्णय गरिएको हो।

प्रहरीका अनुसार विदुर-६ खम्पाक्याम्पस्थित केन्द्रीय कारागार र फोहोर डम्पिङ क्षेत्र नजिकैको सुरक्षित स्थानमा यी शवहरूको व्यवस्थापन गरिएको हो।

डिएनए परीक्षणको नतिजाका आधारमा पछि कुनै परिवारले दाबी गरेमा जीपीएस रेकर्ड हेरेर सोही शव उत्खनन गरी दिन सकिने प्रहरीले जनाएको छ।

प्रकाशित: २९ भाद्र २०८३ १९:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App