रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको नुवाकोट जिल्लाको विद्युत् सेवा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रणालीमार्फत पुनः सुचारु गरेको छ।
विद्युत् आपूर्ति नियमित भएसँगै जिल्लाका अधिकांश भूभागमा उज्यालो फर्किएको छ भने अस्पताल तथा सञ्चार सेवा सञ्चालनमा सहजता आएको छ।
नियमित प्रसारण संरचना बाढीले बगाएपछि प्राधिकरणले धादिङ, काठमाडौं र सिन्धुपाल्चोकबाट ६६ केभीको प्रसारण लाइनलाई ११ केभीमा चार्ज गरी नुवाकोटका प्रभावित क्षेत्रमा बिजुली पुर्याएको हो।
प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार अस्पताल, खानेपानी र दूरसञ्चारजस्ता अत्यावश्यक सेवाहरूमा विद्युत् अवरोध नहोस् भन्नका लागि काठमाडौंबाट चार वटा प्राविधिक टोली खटाइएको छ।
टोलीले २५/२५ केभीएका दुई वटा र ५० केभीएको एउटा डिजेल जेनेरेटर जडान गरी आपत्कालीन ब्याकअप पावरको समेत व्यवस्था मिलाएको छ।
‘बाढीले ठूलो क्षति पुर्याए पनि वैकल्पिक माध्यमबाट नुवाकोटमा विद्युत् सेवा पुनःस्थापित गर्न हामी सफल भएका छौं,’ कामु कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘अस्पताल र सञ्चारजस्ता संवेदनशील क्षेत्रमा जेनेरेटरसहित ब्याकअप राखिएको छ।’
प्राधिकरणले नुवाकोटपछि अब रसुवा जिल्लामा पनि वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति सुचारु गराउन विभिन्न प्राविधिक विकल्पमा काम गरिरहेको जनाएको छ।
साथै, क्षतिग्रस्त जलविद्युत् गृह तथा प्रसारण लाइनहरूको दीर्घकालीन पुनर्निर्माण र पावर हाउसमा फसेका कर्मचारीहरूको उद्धार कार्यलाई समेत समानान्तर रूपमा अघि बढाइएको छ।
प्रकाशित: ११ भाद्र २०८३ १९:४९ बिहीबार





