३ जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

सैनिक सहयोगपूर्ण नेपाल-चीन सम्बन्ध

नेपाल–चीनबिचको मैत्रीपूर्ण सम्बन्धको इतिहास पुरानो र लामो छ। मञ्जुश्रीले चीनबाट काठमाडौं आएर उपत्यकाभित्रको पानी बगाएर बसोबास सुरु गरेको कथा नेपालमा प्रचलित छ। बुद्ध धर्म चीनमा प्रवेश गरेको सयौं वर्षपछि दुई राष्ट्रबिच गैरसरकारी सम्पर्क रहेको वर्णन चार शताब्दीदेखि सुरु भएको ऐतिहासिक प्रमाण पाइन्छ। तर आधिकारिक सम्पर्क चाहिँ पछि थाङ वंशको बेलाबाट सुरु भएको देखिन्छ। नेपाल–चीन सम्बन्धको विश्लेषण गर्दा कूटनीतिक हिसाबले सबैभन्दा पुरानो मित्रता चीनसँग भएको थियो।

ऐतिहासिक रूपमा ठोकुवा गर्न नसके पनि नेपाली जनश्रुति र लेखिएअनुसार पौराणिक कालमा चीनबाट आएका मञ्जुश्री नाम गरेका मुनी/महात्माले काठमाडौं उपत्यकामा रहेको पानीको विशाल ताललाई सुकाई उपत्यकामा मानव बस्ती बसाउनका लागि हालको चोभारको डाँडा काटेका थिए। त्यसपछि उपत्यकामा बस्ती बसाई त्यस स्थानको नाम ‘मञ्जुपत्तन’ राखिएको थियो। त्यस बखतको चलनमा देश–देशबिच धार्मिक दूत पठाउने प्रचलन थियो। सोहीअनुसार सन् ३०६ मा सेन साई नामक दूत नेपाल आई तत्कालीन राजासँग भेटघाट गरेका थिए। सोही क्रममा सन् ४०६ मा पनि फायन धार्मिक दूत भई नेपाल आएका थिए।

सन् ६३६ मा धार्मिक दूतकै रूपमा ह्वेन साङ नेपाल आई तत्कालीन राजदरबारका पाहुना बनेका थिए। अहिलेसम्मको अभिलेखमा नेपाल कत्रो थियो भनेर वर्णन गर्ने पहिलो विदेशी पनि उनी नै थिए। तत्कालीन नेपालको क्षेत्रफल चार हजार स्क्वायर ली (३ ली बराबर १ माइल) भएको लेखेका छन्। सन् ६४७ तिर राजा नरेन्द्र देवको पालामा चिनियाँ दूतहरू ली प्याओ र वाङ छेन से भारत कन्नौजका राजा हर्षवर्धनको दरबारमा गएका थिए। हर्षवर्धन खुसी भई प्रशस्त सम्पत्ति दिएर दुवै दूतलाई बिदा गरे। त्यसपछि तुरुन्तै हर्षवर्धनलाई उनका सेनापति अरुणाश्व (अर्जुन) ले हत्या गरी आफैं राजा भए र चिनियाँ दूतको सम्पत्ति लुटेर बेइज्जत गरी पठाए। ती दुवै दूत भागी नेपाल पसे। यो कुरा चीनका राजाले थाहा पाएपछि उनले नेपाल र तिब्बतसँग सैनिक सहयोग माग गरी लुटाहा अरुणाश्वलाई ठिक पार्न अनुरोध गरे। सोहीअनुसार नेपालले सात हजार घोडचढी सेना र तिब्बतले १२ सय भोटे पैदल सेना सहयोग दिएका थिए। नेपाल–चीन सैनिक इतिहासमा नेपालले विदेशीलाई सैनिक सहयोग दिएको यो पहिलो पटक हो। ती दुवै संयुक्त फौजले कन्नौज गई अरुणाश्वको सेनालाई पराजित गरी उसलाई पक्रेर तिब्बत लगेपछि फाँसी दिइएको थियो।

लिच्छवि कालमै चीनसँग पनि अति राम्रो पहुँच भएका तिब्बती राजा स्रोङचङ गम्पोले नेपालका राजा अंशुवर्माकी छोरी भृकुटीसँग विवाह गरेका थिए । तर यसबारे भृकुटी कसकी छोरी हुन् भन्ने विवाद छिनोफानो हुन सकेको देखिँदैन। अर्थात् भृकुटी अंशुवर्माकी छोरी होइनन् भन्ने कुरा अब प्रमाणित भइसकेको छ। लिच्छवि राजा जय भीमदेवको पालामा तिब्बतमा गुम्बा बनाउनका लागि तिब्बती राजाको अनुरोधमा नेपालले बलबाहु लाछिमे (पछि अरनिको नामले प्रख्यात) को नेतृत्वमा ८० जना सिकर्मी÷डकर्मी तिब्बत पठायो। त्यो टोलीले बनाएको गुम्बा/चैत्य देखेर चिनियाँ राजा कुब्लाई खाँ दंग परे। त्यसपछि उनले उक्त टोलीलाई चीनमा पनि चैत्य बनाउन बोलाए। सन् १२६२ मा अरनिकोले नेतृत्व गरेको टोली पेकिङ पुग्यो। सन् १२७१ मा पेकिङमा हाल रहेको ‘ह्वाइट पगोडा’ बनाए भने उक्त टोलीले चीनमा धेरै चैत्यहरू बनाएका थिए।

मल्ल कालदेखि सन् १७९२ सम्म नेपाल र चीनको सम्बन्ध अत्यन्तै राम्रो भएको कारणले नै नेपालले तिब्बतमाथि एकाधिकार जमाई सुन, नुन र ऊनको व्यापार चलायो। यस व्यापारले गर्दा नेपालको आर्थिक स्थिति अति राम्रो भयो भने त्यस युगलाई नेपालको स्वर्णिम काल समेत भनिन्छ। सन् १७९१ मा भएको नेपाल–चीन–तिब्बत युद्धपछि भने नेपालले तिब्बतसँगको व्यापारबाट वञ्चित हुनपरेको थियो।

मल्लकाल

नेपाल–चीन इतिहासका अमर पात्र: सेनापति भीम मल्ल

सेनापति काजी भीम मल्ल सैनिक इतिहासका सगरमाथा हिमालजत्तिकै अग्ला पात्र हुन्। इतिहासकारहरूले सोधखोज किन नगरेको? अनि काठमाडौंलगायतका स्थानमा उनका सालिक किन राखिन्न? केवल भीम मल्लकी श्रीमतीले दिएको श्रापलाई ‘सतीको श्राप’सँग मात्र जोडेर उनलाई लेखिन्छ। अरूका विषालु कुरा सुनेर राजा प्रताप मल्लले उनलाई मारेपछि उनकी श्रीमतीले सती जाने बेलामा श्राप दिएकी थिइन्। उनी राजा लक्ष्मीनरसिंह मल्लकै पालामा मारिएका पनि भनिएको भेटिन्छ।

हालसम्म प्राप्त अभिलेखअनुसार भीम मल्ल नै पहिलो व्यक्ति हुन्, जसले नेपाल बाहिर गएर अर्को देशमाथि नियन्त्रण गरे। नेपालको इतिहासमा देशको भूगोल बढाउने र दुस्मनबाट बचाउने काममा धेरै पात्रहरूले अमूल्य नेतृत्व दिएका छन्। तीमध्ये प्रशंसनीय पात्र हुन्– प्रधान सेनापति काजी भीम मल्ल। उनी कान्तिपुरका राजा लक्ष्मीनरसिंह मल्ल र उनका छोरा राजा प्रताप मल्लसमेतका प्रधान सेनापति काजी थिए। अनि राजपरिवारका नजिकका नातेदार थिए।

काजी भीम मल्लले हातहतियारसहितको ठुलो सैनिक बल लिएर कब्जा गर्न तिब्बत पुगेका थिए। त्यसबखत कुनै देश कब्जा गर्नु भनेको राजधानी कब्जा गर्नु हुन्थ्यो। त्यो समयअनुसार उनले आफ्नो देशको भूगोल र आर्थिक पाटो बलियो बनाउन कान्तिपुरबाट ठुलो सेना लिएर शक्तिशाली तिब्बतभित्र प्रवेश गरे। ठाउँठाउँमा लडे। हुँदैहुँदा ल्हासा पुगेर तिब्बतको राजधानी कब्जा गरे। यो एकदम साहसी नेतृत्व कर्म थियो।

तिब्बतमाथिको आर्थिक नियन्त्रण कान्तिपुरको बनाए। थुप्रै नेपाली अर्थात् कान्तिपुरे व्यापारीलाई त्यहाँ बसाले। तिब्बतमा रहेको सुन, ऊन, नुन, घोडालगायतका व्यापारमाथि कान्तिपुरको एकछत्र नियन्त्रण रह्यो। अलिपछि भक्तपुर र पाटनले समेत तिब्बतमा व्यापार गर्ने सुविधा पाए। पाटन, कान्तिपुर र भक्तपुर सुनैसुनका मन्दिरले भरिनुमा समेत तिब्बतमाथिको नियन्त्रण र त्यहाँको सुनले गर्दा हो भने बहादुर काजी भीम मल्लकै योगदानले हो।

आधुनिक काल

अन्तिम नेपाल–तिब्बत युद्धमा नेपालीले लडेको झुंगाको किल्ला

सन् १७४४ (वि.सं. १८०१) बाट गोर्खा राज्यले थालेको नेपाल एकीकरणपछि नेपालको राजनीतिक इतिहास फराकिलो बन्दै गएको थियो। सन् १७४४ मा नुवाकोट र सन् १७६८ (वि.सं. १८२५) मा कान्तिपुर विजय भएपछि तिब्बतसँगको व्यापार र कूटनीतिक सम्बन्ध पूर्ण रूपमा कान्तिपुरे राज्यबाट गोर्खाली शाह राजाको हातमा पुग्यो। तत्काल तिब्बत चीनको प्रत्यक्ष नियन्त्रणमा नभए पनि नेपालका वकिल र चिनियाँ अम्बाहरूको संयुक्त सल्लाहबाट त्यहाँ राजकाज चलाइन्थ्यो। चीनको बादशाह र राजाका लागि तिब्बत सम्मानित धार्मिक स्थल थियो। त्यसैले चीनले तिब्बतलाई आफ्नो पवित्र स्थल मान्थ्यो भने चिनियाँ राजाहरूले तिब्बतमा थुप्रै गुम्बा/चैत्यहरू बनाएका थिए। यता आएर पृथ्वीनारायण शाहको मृत्युपछि नेपाल, तिब्बत तथा चीन बिच व्यापारिक कारणले गर्दा पटक–पटक विवाद भयो। कूटनीतिक माध्यम असफल भएपछि नेपालले उत्तरी छिमेकीसँग तीन पटक निम्नअनुसार युद्ध गर्नुपरेको थियो।

क. पहिलो नेपाल–तिब्बत युद्ध (सन् १७८८–८९): राजा रणबहादुर शाहको शासनकालमा राज्यका नायब तथा राजकुमार बहादुर शाह (रणबहादुरका काका) को पहलमा यो युद्ध भई केरुङको सन्धिबाट अन्त भएको थियो। यो युद्ध मल्लकालमा बनेका खोटा चाँदीका मोहर र शाहकालमा बनेका शुद्ध चाँदीका मोहरको मूल्यको सम्बन्धमा भएको थियो।

ख. दोस्रो नेपाल–तिब्बत युद्ध: केरुङ सन्धिमा तिब्बतले पालना गर्नुपर्ने बुँदाहरू नमानी, वार्षिक नेपाललाई तिर्नुपर्ने ५० हजार मोहर नतिरेपछि नेपालले दोस्रो पटक तिब्बतमाथि हमला गर्‍यो। सो युद्धमा विजय प्राप्त गरी करिब नौ महिनासम्म नेपाली सेना तिब्बतका विभिन्न ठाउँमा बसी रहे। यो युद्ध नेपालले जितेको थियो।

ग. नेपाल–चीन युद्ध: तिब्बतको अनुरोधमा चीनले नेपालविरुद्ध लड्नका लागि फु–खाङ–आनको नेतृत्वमा १७ हजार सैनिक तिब्बत पठाएपछि यो युद्ध नेपाल–चीन युद्ध बन्न पुग्यो। युद्ध सुरु भएको करिब ११औं महिनामा चीन पनि सामेल हुन आएपछि यो युद्ध वेत्रावतीको सन्धिबाट टुंगियो। नेपालले तिब्बतको व्यापार सधैंका लागि गुमायो भने नेपाल छिङ वंशीय चिनियाँ छियानलोङ बादशाहको गुलामी हुन बाध्य भयो (कानुनी रूपमा) । युद्धलाई नेपाल–चीन–तिब्बत युद्ध भनी लेखिएको छ । त्यसो होइन, यो छुट्टै युद्ध हो। किनकि युद्धको नेतृत्व चीनले लियो भनेपछि सन्धि पनि चीनसँग मात्र भयो। सन्धिमा तिब्बत र नेपाल दुवैलाई चीनको मातहतमा रहेको देखाइएको छ।

घ. अन्तिम नेपाल–तिब्बत युद्ध (सन् १८५५–५६):  वेत्रावतीको सन्धिअनुसार नेपालले चीनका बादशाहलाई आफ्नो मालिकका रूपमा मान्नुपर्ने र वर्ष–वर्षमा नेपालको राजाले सौगात पठाई चीनका बादशाहलाई खुसी पार्ने चलन थियो। त्यसका लागि नेपालबाट ठुला टोली चीन पुग्थ्यो र करिब ६ महिनापछि नेपाल फर्कन्थ्यो। प्रधानमन्त्री जंगबहादुरको समयमा सरदार गम्भीरसिंह गड्तौलाको नेतृत्वमा सौगात लिएर चीन गएको टोलीलाई भोटेहरूले अभद्र व्यवहार गरी खान र बस्नसमेत नदिँदा धेरै जना बाटोमै मरे र एक जना मात्र बाँचे। यसबाट तिब्बतले कूटनीतिक मर्यादा तोडेकोले त्यसको बदला नेपालले सैनिक कारबाहीबाट गर्ने निधो गर्‍यो। यो युद्ध पूर्ण रूपमा नेपालले जित्यो भने थापाथलीको सन्धिबाट अन्त भयो।

दोस्रो विश्वयुद्धमा नेपालले बर्माबाट सैनिक शिक्षक टोली पठाएको: दोस्रो विश्वयुद्धको समयमा चीनले पनि जापानविरुद्ध अमेरिकी र अंग्रेजी फौजलाई सैनिक सहयोग दिएको थियो। त्यस बेला बर्मामा खटिएका नेपाली फौजबाट चिनियाँ फौजलाई तालिम दिनका लागि नेपाली सैनिक शिक्षक टोली चीनको भूभागमा पठाइएको थियो।

२००७ देखि २०४७ सालसम्म

सन् १९५० पछि नेपालको राजनीतिक इतिहासमा भएको परिवर्तनसँगै नेपाल–चीन सम्बन्ध द्रुत गतिमा अगाडि बढेको छ। यस कालका मुख्य गतिविधिहरू निम्नअनुसार छन्:

क. कुँवर इन्द्रजित सिंह (केआई सिंह) को चीन पलायन:  नेपाली कांग्रेसभित्रको आन्तरिक मतभेदका कारण २४ घण्टामा डा. केआई सिंहले काठमाडौं कब्जामा लिए। त्यसपछि केही सहयोगीसँग उनी राजनीतिक शरणार्थीका रूपमा रसुवागढी हुँदै केरुङ र पेकिङ पुगेका थिए। केही वर्षपछि नेपाल फर्केर उनी प्रधानमन्त्रीसमेत भए।

ख. सगरमाथा हिमालको विवाद: नेपाल र तिब्बतबिच परापूर्वकालदेखि भएका घनिष्ठ सम्बन्ध र नेपालको उत्तरी हिमालका कारण सीमासम्बन्धी खासै विवाद थिएन। तर रसुवा, धनकुटा क्षेत्रका किमाथांका, थुदाम तथा जुल्ला क्षेत्रको नारा भन्ज्याङ इलाकामा सीमा विवाद कायम थियो। पछि प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको समयमा वैधानिक सीमांकन गरियो। सो क्रममा सगरमाथाको स्वामित्वबारे विवाद हुँदा चीनले सगरमाथाको नेपालतर्फको भाग नेपालकै हो भनी स्वीकार गर्‍ यो। यो हिमाल देवढुंगा, चोमोलोङ्मा, सगरमाथा र माउन्ट एभरेस्ट नामले चिनिन्छ।

ग. राजा महेन्द्रको चीनसँगको कूटनीति: राजा त्रिभुवनको पालामा भारतले पठाएका सचिवहरू राजदरबार तथा मन्त्रालयहरूमा प्रभावशाली थिए र विभिन्न स्थानमा भारतीय सैनिक तैनाथ थिए। ती फिर्ता नल्याउने अडानबिच राजा महेन्द्रले चीनसँगको कूटनीतिक सामीप्य प्रयोग गरी ती टोली फिर्ता गराए।

घ. खम्पा काण्ड: तिब्बतबाट निर्वासित भई भारतमा रहेका दलाई लामाका समर्थक सशस्त्र लडाकूहरू (खम्पा) ले नेपालको भूभाग प्रयोग गरी तिब्बतमा चिनियाँ फौजविरुद्ध आक्रमण गर्न थाले। चीनको अनुरोधमा सन् १९७४÷७५ मा नेपाल सरकारले उक्त विद्रोह दमन गर्‍यो।

ङ. हवाई प्रतिरक्षा हतियार  

खरिद: नेपाली भूमिमा बिनाअनुमति भारतीय लडाकु विमानहरू प्रवेश गर्दा कूटनीतिक पहल असफल भएपछि सन् १९८८ जुलाईमा नेपालले चीनबाट हवाई प्रतिरक्षा हतियार खरिद गर्‍यो। यो चीनसँग ठुलो परिमाणमा हतियार खरिद गरिएको पहिलो घटना थियो।

नेपाल–चीन सम्बन्ध पौराणिक कालदेखि वर्तमानसम्म निरन्तर बढिरहेको छ। यस अवधिमा धेरै घटनाहरू घटे। चीनले नेपालको विकासका लागि अनगिन्ती सहयोग गरेको छ भने दुवै देशबिच स्थिर सम्बन्ध विकास भइरहेको छ। लोकतन्त्र स्थापनापश्चात् यो सम्बन्ध अझ प्रगाढ बन्दै गएको छ।

अन्तमा, नेपालको इतिहासमा सबैभन्दा पुरानो, अविच्छिन्न र परस्पर सम्मानमा आधारित सम्बन्ध नेपाल–चीन सम्बन्ध नै हो। चीनसँग युद्ध हुनुमा दोस्रो नेपाल–तिब्बत युद्धमा तिब्बती लामालाई चढाइएको गुम्बा लुटिनु पनि कारण थियो। तिब्बत त्यसबेला चीनको प्रशासनिक मातहतमा थियो। चीनले किन तिब्बतलाई सहयोग गर्‍यो भन्ने विषयमा धर्म नछोडी मूल्यांकन गर्नुपर्छ। नेपाल–अंग्रेज युद्धका बेला भीमसेन थापाले चीनसँग सहयोग माग्दा नपाएको भन्ने आरोप छ। तर वास्तविकता के हो भने युद्धअघि नेपालले कसैसँग सैनिक सहयोग मागेको थिएन। युद्ध हार्दै गर्दा मात्र पञ्जाब, ग्वालियर, चीनलगायतसँग सहयोग मागिएको थियो तर कसैले सहयोग गरेन। युद्धअघि नै सैनिक गठबन्धन आवश्यक थियो।

त्यसो भएन। चीनले नदिनुको कारण के थियो भने नेपालले लेखेको पत्रमा दिएको मनसाय यस्तो थियो:  ‘अंग्रेजले तिब्बत लिनका लागि नेपाल हुँदै अगाडि बढेको छ। हामीले ज्यान दिएर फिरिंगीलाई थामी राखेका छौं। तुरुन्त सैनिक मद्दत दिनुहोला, अन्यथा अंग्रेज तिब्बत पस्नेछ।’

अब चीनले अंग्रेजसँग यसबारे सोध्यो। अंग्रेजले दिएको जवाफमा नेपालले लेखेका कुरा सतप्रतिशत झुट्टा ठहराई सैनिक सहयोग दिनुको साटो उल्टै झुट्टा कुरा लेखेकोमा नेपाललाई दण्ड दिन्छु भनी जवाफ पठायो। बादशाहलाई लेखेको पत्रमा नेपालले ढाँट्नु महाभुल थियो। इतिहासमा सत्यसँग खेलबाड गर्नु हुँदैन।

इतिहासले देखाउँछ कि चिनियाँहरू आफ्नो भूमि जोगाउन मात्र सेना प्रयोग गर्छन् र अर्को भूमि कब्जा गर्न आफ्नो सिमा नाघेर जाँदैनन् । तसर्थ, नेपालले पनि चीनबाट अरू सहयोगको अपेक्षा जति गरे पनि होला तर परेको बेलामा चीनबाट सैनिक सहयोगको अपेक्षा कदापि नगरे हुन्छ।

प्रकाशित: १४ चैत्र २०८२ ०९:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App