३ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

नेपाल बाल संगठनबाट २० बालबालिकाको उद्धार

नेपाल बाल संगठनमा रहेका बालबालिकाको दयनीय अवस्थाबारे उजुरी र भिडियो प्राप्त भएपछि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले २० जना बालबालिकाको उद्धार गरेको छ।

मन्त्रालय र बाल हेल्पलाइनको संयुक्त टोलीले स्थलगत अनुगमन गरी तत्काल उद्धार प्रक्रिया अघि बढाएको हो।

मन्त्रालयले बाल हेल्पलाइन ‘१०४’ को समन्वयमा पहिलो चरण अन्तर्गत २ वर्षभन्दा कम उमेरका २० जना बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।

उद्धार गरिएका बालबालिकामध्ये १२ जना बालक र ८ जना बालिका रहेका छन्। उनीहरूको संरक्षण, स्वास्थ्य परीक्षण, आवश्यक हेरचाह तथा पुनर्स्थापनाका लागि समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।

अनुगमनका क्रममा बालगृहको सरसफाइ अत्यन्त कमजोर रहेको, शौचालय तथा बाथरुम अस्वच्छ र चिप्लो अवस्थामा रहेको भेटिएको थियो।

यसका साथै, भवनभित्र पानी जमेको र विभिन्न उमेर समूहका बालबालिकालाई एउटै स्थानमा राखिएकाले उनीहरूको स्वास्थ्य र सुरक्षामा गम्भीर जोखिम देखिएको मन्त्रालयको निष्कर्ष छ।

यसअघि मन्त्रालयले भौतिक अवस्था सुधार, सरसफाइ व्यवस्थापन तथा बालबालिकाको बसोबास व्यवस्थित बनाउन पटक-पटक निर्देशन दिएको थियो।

तर, सरोकारवाला पक्षलाई बोलाएर छलफल गर्दा र निर्देशन दिँदा समेत अपेक्षित सुधार नभएपछि मन्त्रालयले यो कदम चालेको हो। हालै बालगृहका केही कर्मचारी र स्थानीय सरोकारवालाले भवनभित्र पानी जमेको र महामारी फैलिन सक्ने जोखिम देखाउँदै भिडियो सार्वजनिक गरेका थिए।

घटनासम्बन्धी आवश्यक कागजी प्रक्रिया तथा कानुनी कार्य अघि बढाइसकेको मन्त्रालयले जनाएको छ। बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखी बाँकी रहेका बालबालिकाको अवस्थाको समेत मूल्याङ्कन गर्दै अनुगमन र आवश्यक कदम चाल्ने कार्यलाई निरन्तरता दिइने मन्त्रालयको भनाइ छ।

प्रकाशित: २ श्रावण २०८३ १९:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App