२० चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

खाडी क्षेत्रमा रहेका नेपालीको उद्धार गर्दै सरकार: शुक्रबार राति दुबईमा पहिलो उडान

सरकारले आज (शुक्रबार)देखि तीन दिन खाडी क्षेत्रमा रहेका नेपालीको उद्धारका लागि विशेष उडान गर्ने भएको छ। 

आज (शुक्रबार)देखि आइतबारसम्म युएईको दुबई र साउदी अरबको दमाममा नेपाल एयरलाईन्सले विशेष उडान गर्ने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले नेपाली समय अनुसार शुक्रबार (आज) राति सवा ११ बजे काठमाडौं-दुबई पहिलो उडान हुने जानकारी गराएको छ। यही बिमान दुबईको स्थानीय समय अनुसार शनिबार बिहान ४ः१० बजे काठमाडौं फर्कनेछ।

नेपाल एयरलाइन्सकी सहायक प्रवक्ता कल्पना काफ्लेले पहिलो विमान काठमाडौंबाट आज (शुक्रबार) राति ११ः१५ बजे दुबईका लागि प्रस्थान गर्ने र उक्त विमान दुबईबाट शनिबार बिहान स्थानीय समय अनुसार ४ः१० बजे काठमाडौंका लागि उड्ने जानकारी दिइन्। 

त्यसैगरी अर्को उडान आइतबार बिहान ८ः३० बजे काठमाडौंबाट साउदी अरबको दमामका लागि हुने उनको भनाइ छ। आइतबार नै स्थानीय समयानुसार दिउँसो १२ः२० बजे निगमको विमान दमामबाट काठमाडौं फर्कनेछ।  

मध्येपूर्वमा चलिरहेको द्वन्द्वका कारण नेपाल आउन वा नेपालबाट विदेश जान नपाएका नागरिक लक्षित यो उडान गर्न लागिएको काफ्लेले बताइन्।  

'पहिलेदेखि अड्किएर बसेका, फसेर बसेका वा नयाँ कोही नेपाल आउन वा नेपालबाट बाहिर जान चाहने जो कोही यी दुई उडानबाट गन्तब्यमा जान सक्नेछन्।,' सहायक प्रवक्ता काफ्लेले नागरिकन्युजसँग भनिन्, 'त्यसको लागि काजगपत्र भने सबै मिलाएर आउनुपर्छ।

'दूतावासमा गएर गर्ने हो कि कहाँ गएर गर्नुपर्ने हो। यात्राको लागि आवश्यक काजगपत्र चाहीँ लिएर आउनुपर्छ,' उनले भनिन्।  

विशेषगरी पहिले नै टिकट लिएर आउन नपाएकाहरु नेपाल आउन पाउने एयरलाइन्सले जनाएको छ। एयरलाइन्सका अनुसार अप्ठेरो अवस्थामा पनि देशले पठाउनुपर्छ भनेर विमान पठाउन लागिएको हो। तर आउने यात्रुको संख्याको आधारमा कुन विमान पठाउने तय हुने सहायक प्रवक्ता काफ्लेले जानकारी दिइन्। 

अहिलेसम्म कति छन् नेपाल आउँछन् भन्ने तय भएको छैन। तय भएपछि कुन विमान पठाउने भन्ने टुङ्गो लाग्नेछ । उनले भनिन्, धेरै आउँने भए ठूलो विमान पठाउनुपर्छ नभए सानो पठाउनेछौं।'  

ठूलो विमानमा २७४ जना र सानो विमानमा १५८ जना अटाउने एयरलाइन्सले जनाकारी दिएको छ।

प्रकाशित: २० चैत्र २०८२ १६:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App