राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमपूर्ण सडक मार्गमा सवारी आवागमन कडाइपूर्वक बन्द गरी यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
प्राधिकरणका अनुसार, जोखिमयुक्त क्षेत्रमा सवारी आवागमन बन्दको अवज्ञा गर्ने सवारी चालक तथा सवारीधनीलाई कडाईपूर्वक कारबाहीको दायरामा ल्याइनेछ।
सोमबार साँझ काभ्रे जिल्लास्थित रोशी खोलाको बहाव बढेसँगै सम्भावित जोखिमको पूर्वध्यानमा राख्दै पाँचवटा सवारी सुरक्षित स्थानमा रोक्न खोज्दा यात्रुहरू बाढीमा फसेका थिए। त्यसरी अलपत्र परेका सबै ८९ जना यात्रु सकुशल उद्धार गरिएको प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणका उपसचिव रामबहादुर के.सी.का अनुसार केही सवारी चालकका कारण यात्रुहरुको सुरक्षामा गम्भीर प्रश्न उठेपछि स्थानीय वस्तुस्थिति तथा सडकको जोखिमको अवस्थालाई विश्लेषण गरी आवश्यकताअनुसार सवारी आवगमन कडाइपूर्वक बन्द गर्न निर्देशन दिइएको हो।
रोशी खोलाको जस्तो घटना दोहोरिन नदिन प्राधिकरणले विपद् जोखिमको आधारमा संवेदनशील सडक मार्ग पहिचान गरी जोखिम न्यूनीकरण गर्न सम्बन्धित सबै निकायहरूसँग समयमै समन्वय गर्नुपर्ने पनि बताएको छ।
त्यसैगरी, विपद् अवस्थाका बेला सडक अवरुद्ध हुँदा सवारी आवगमन बन्द भएर अलपत्र परेका यात्रु तथा जोखिममा रहेका व्यक्तिहरूलाई सुरक्षित राख्न योजना तयार पारेर कार्यान्वयन गर्न निर्देशन दिइएको छ।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान, र सोको आधारमा जारी गरिने पूर्वसूचना तथा पूर्वचेतावनी पालना गर्न सबैलाई अनुरोध गरेको छ।
प्रकाशित: २२ वैशाख २०८३ १३:३९ मंगलबार





