२ मंसिर २०८३ बुधबार
image/svg+xml
समाज

दूरसञ्चार सेवा दस्तुरको विवरण १० दिनभित्र बुझाउन प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट (इमेलसहित) सेवा प्रदायकहरूलाई दूरसञ्चार सेवा दस्तुर (टीएससी) सम्बन्धी विवरण तथा आवश्यक कागजात १० कार्य दिनभित्र पेश गर्न निर्देशन दिएको छ।

प्राधिकरणले मंगलबार सार्वजनिक गरेको सूचनामार्फत आर्थिक वर्ष २०८२/८३ र चालू आर्थिक वर्षको असोज मसान्तसम्म नेपाल सरकारको राजस्व खातामा दाखिला गरेको दूरसञ्चार सेवा दस्तुरको विवरण माग गरेको हो।

आर्थिक ऐन, २०८३ को दफा ८ को उपदफा ५ मा ‘दूरसञ्चार सेवा दस्तुरको प्रशासन नेपाल दूरसञ्चार प्राधिकरणले निर्धारण गरेबमोजिम हुनेछ’ भन्ने व्यवस्था रहेको उल्लेख गर्दै प्राधिकरणले अनुमतिपत्र प्राप्त गरी सेवा सञ्चालन गरिरहेका प्रदायकसँग विवरण माग गरेको जनाएको छ।

प्राधिकरणले सेवा प्रदायकहरूलाई प्रत्येक महिनाको छुट्टाछुट्टै विवरण तयार गरी पेश गर्न भनेको छ। विवरणमा इन्टरनेट बिक्रीबापतको आय, मर्मतसम्भारबापतको आय, उपकरण बिक्रीबापतको आय र अन्य आय खुलाउनुपर्नेछ।

त्यस्तै, मासिक कुल आय, दाखिला गरिएको टीएससी रकम, रकम दाखिला गरेको मिति, तोकिएको समयभन्दा ढिलो दाखिला गरेको भए त्यसमा लागेको ब्याज र ब्याजसहित जम्मा दाखिला भएको रकमसमेत उल्लेख गर्नुपर्नेछ।

प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखा जमल, काठमाडौंमा आवश्यक कागजातसहित विवरण पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।

प्रकाशित: २ मंसिर २०८३ १०:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App