३ वैशाख २०८३ बिहीबार
image/svg+xml
समाज

नयाँ वर्षमा प्रकृतिको अनुपम उपहार ‘फूल’

सलहेस फूलबारीमा फुलेको माला आकृतिको फूल। तस्बिर : मिथिलेश/नागरिक

नयाँ वर्षमा शुभकामना आदानप्रदान गर्नु सामान्य चलन हो। तर मधेस प्रदेशको लहान स्थित सलहेस फूलबारीमा भने विक्रम संवत्को नयाँ वर्षमा शुभकामना दिने काम प्रकृतिले नै गर्छ। 

वैशाख १ गते लहान नगरपालिका-२२ मा अवस्थित सलहेस फूलबारीमा हरेक वर्षझैं यसपटक पनि माला आकृतिको अनौठो फूल फुलेको छ। जसलाई मिथिलावासीले प्रकृतिद्वारा प्रदान गरिएको नयाँ वर्षको शुभकामना मानेका छन्।

यो अद्भुत फूल मिथिलाका लोकनायक सलहेससँग जोडिएको छ। दशकौंदेखि फुल्दै आएको यस फूललाई हेर्न अहिले पनि फूलबारीमा भव्य मेला लागेको छ। लहान बजारदेखि तीन किलोमिटर दक्षिण-पश्चिममा पर्ने सलहेस फूलबारीमा रहेको हारमको रूखमा यो माला आकृतिको फूल हरेक वर्ष नयाँ वर्षमा मात्रै फुल्छ। फूलबारीमा सयौं रुख भए पनि मन्दिर नजिकै टाँसिएको दुई वटा हारमको रूखमा मात्र यो फूल देखिन्छ।

वन तथा वातावरण विज्ञका अनुसार सलहेस गाथासँग सम्बन्धित यो अनौठो फूल ‘सुनाखरी’ प्रजातिको विशेष प्रकार हो। फूलबारीका पुजारी नागेश्वर धामीका अनुसार यो फूल राजा सलहेस र कुसमा मालिनीको प्रेमको प्रतीक मानिन्छ। धामी भन्छन्, ‘सुरुदेखि नै उही रूखमा यो फूल उस्तै स्वरुपमा फुल्दै आएको छ। अरू फूल झरेर भुइँमा खस्ने गरे पनि यो फूलको एक पत्र पनि भुइँमा नझर्ने विशेषता छ।’

नयाँ वर्षमा मात्र फुल्ने यस अनुपम फूललाई हेर्न मिथिलाञ्चल, पूर्वी तराई, बिहार र नेपालका अन्य जिल्लाबाट पनि श्रद्धालु भेला भएका छन्। भारत बिहारबाट आएका श्रद्धालुहरूमा विशेषगरी ‘दुसाद’ जातिको उपस्थिति उल्लेखनीय रहेको पुजारी धामी बताउँछन्। सलहेसलाई ‘दुसाद’ जातिको कुलदेवता मानिने भएकाले भारतबाट पनि उल्लेख्य संख्यामा भक्तजन आउँछन्।

भारत दरभंगाबाट आएका रोहिणी पासवानले पहिलोपटक फूलबारीको दर्शन गर्दा आफ्नो अनुभूति यसरी व्यक्त गरे, ‘वर्षौंदेखि सलहेस गाथा सुन्दै आएका थियौं। आज ६५ वर्षको उमेरमा यस्तो अलौकिक फूल देख्न पाउँदा आश्चर्यचकित भएँ। रुखको बिचबाट माला झैं बनेर फुलेको फूल देख्दा आत्मा नै पुलकित भयो।’

स्थानीय लोकविश्वासअनुसार फूल शृंगार गर्ने दौना मालिनी नयाँ वर्षको दिन राजा सलहेससँग भेट्न फूलको रूपमा प्रकट हुने विश्वास छ। नयाँ वर्षमा मात्र फुल्ने यो फूल दैवी शक्ति हो वा दुर्लभ वनस्पति विशेषता, यसबारे हालसम्म वैज्ञानिक अनुसन्धान भएको छैन। नेपालमा सुनाखरीका आठ प्रजाति छन् भने विश्वभर ३५ प्रजाति पाइन्छन्। तर सलहेस फूलबारीको यो फूल निकै अनौठो र दुर्लभ छ। वैशाख १ गते पूर्ण रूपमा फुल्ने र २ गतेदेखि बिस्तारै मर्ने प्रकृति आफैंमा अद्भूत छ।

मिथिलाका लोकनायक सलहेस सातौं-आठौं शताब्दीका नायकका रूपमा चिनिन्छन्। लोकगाथामा प्रमुख स्थान ओगटेका सलहेसबारे आजसम्म गहिरो अध्ययन हुन सकेको छैन। तर मिथिला क्षेत्रका जनजीवनमा सलहेसको नाम गुन्जिरहेकै छ।

सलहेससँग प्रेममा परेकी दौनाले आफ्नो प्रेमलाई विवाहमा रूपान्तरण गर्न भने सकिनन्। सलहेससँग दौनाले विवाह प्रस्ताव राखे पनि उनले स्वीकार गरेनन्। कारण उनी विवाहित थिए। दौनाले सलहेससँगको प्रेमलाई निश्चल राखिरहिन्। उनले विवाह गरिनन्। उनी सलहेसको सम्झनामा माला लिएर उभिइरहिन्।

सलहेससँगको अमर प्रेमको सम्झनामा फूलबारीमा रहेको सलहेस मन्दिरको दक्षिणपट्टिको हारमको रुखमा वर्षमा एक पटक फूल्ने सुनाखरीको मालाआकृत फूल दौना र सलहेसकै ‘प्रेम प्रतिक’ भएको लोकमान्यतालाई नथनुनी सिंह दनुवारद्वारा लिखित पुस्तकमा उल्लेख गरिएको छ। नयाँ वर्षका दिन फक्रिने यो माला आकृतिको फूल प्रेमिका दौनाले सलहेसका लागि ल्याएकी थिइन्। जुन उनले सलहेसलाई पहिर्‍याउन पाइनन्। यी दुवैको प्रेमको प्रतीकका रूपमा नयाँ वर्षमा फक्रिने मालाआकृत फूल हेर्न यहाँ हरेक वर्ष भिड लाग्छ।

यो फूलबारी १४औं शताब्दीमा राजा पुरादित्यद्वारा लगाइएको कथन छ। १६औं शताब्दीमा राजा कुलेश्वरले फूलबारीको संरक्षकका रूपमा सलहेसलाई नियुक्त गरेका थिए। फूलबारीमा सबभन्दा पहिले राजा कुलेश्वरको पूजाको चलन अझै कायम छ। सलहेस फूलबारीमा जैविक विविधता रहेको छ। ४५ प्रजातिका ७१ वनस्पति र ८२ प्रजातिका बिरुवा छन् त्यहाँ। फूलबारीको माटो घर पोत्न लग्ने क्रम अझै कायम छ। यहाँ भाकल गरेपछि मनोकामना पूरा हुने, सुख, शान्ति प्राप्त हुनुका साथै यहाँ गरिएको प्रेम र विवाह जीवनपर्यन्त सुखमय रहने जनविश्वास छ।

लोकगाथाका यी अमर पात्र सलहेस आफ्नो प्रभाव क्षेत्रमा बसेका जनताका लागि शोषण, अत्याचार र सामाजिक अराजकताविरुद्ध निरन्तर संघर्षरत थिए। सलहेसलाई दुसाध जातिको भनिन्छ। प्राचीन समयदेखि नै दुसाधहरू शूरवीर मानिन्थे। त्यसैले सुरक्षाको जिम्मेवारी उनीहरूले पाउँथे। सलहेस पनि प्रारम्भमा पहरेदार नै थिए। पछि उनले आफ्नो सेनाको गठन गरी उत्तरतिरबाट तिब्बत र किरातहरूको आक्रमणको वीरतापूर्वक सामना गरेका थिए र आफ्नो समाजलाई स्वाभिमानीपूर्वक जिउने वातावरण मिलाएका थिए।

लोककल्याणका लागि चमत्कारिक काम पनि गरेको हुनाले यिनी देवताको रूपमा पुजिन थाले। सलहेसको समयमा जादु-टुना, तन्त्र-मन्त्रको प्रगाढ प्रयोग भइरहेको थियो। आफ्नो स्वरूप परिवर्तन गर्ने, अरूको स्वरूप परिवर्तन गरिदिने, आकाशमा उड्ने, अदृश्य हुने, पशुपंक्षी पनि मानव जस्तै बोल्ने जस्ता अलौकिक त्रियाहरू हुने गरेका कारण विद्वान्को एउटा वर्गले सलहेसको समय छैठौं-सातौं शताब्दी ठान्छ। त्यसबेला मालिनीहरूको चर्चा आएको र तिनीहरू मन्त्रमा सिद्ध भएकाले पनि यस तर्कलाई उनीहरूले अघि बढाएका छन्। हर्षवर्धनको मृत्युपछि मिथिलामा आएको अराजक अवस्थाकै उपज सलहेस भएको एकथरी विद्वान्हरूको मत छ।

गाथागायकहरूले राजा सलहेसलाई आफ्नो सौर्य-वीरताले गर्दा महिसौथा राज्यको राजासम्म भएको वर्णन गरेका छन्। एउटा अर्को मतमा कर्णाट राजा हरिसिंह देवको समयमा मैथिली भाषाको प्रथम गद्यग्रन्थ ‘वर्णरत्नाकर’को रचना ज्योतिरीश्वर ठाकुरले सन् १३२४ तिर गरेका थिए। उक्त ग्रन्थमा ‘लोरिकनाच’को चर्चा छ तर सलहेसको चर्चा छैन। त्यसैले सलहेसको समय चौधौं शताब्दीको अन्त्य वा पन्ध्रौं शताब्दीको सुरुतिर भएको हुन सक्ने अनुमान पनि गरिएको छ। तर त्यतिबेला राजदरबारमा संस्कृत पण्डितहरूको वर्चस्व रहेकाले दुसाध जस्ता तल्ला जातका नायक व्यक्तित्वबारे लेख्न आवश्यक नठानिएको हुन सक्छ। किनभने अहिले पनि सन् १८८१ मा जार्ज ग्रियर्सनले सलहेस गाथालाई लिपिबद्ध नगरेको भए कोही शास्त्रीय लेखकहरू (शिष्ट साहित्यका प्रणेताहरू) ले लेख्ने थिएनन्।

त्यति मात्र होइन, आजसम्म पनि एक जना डा. महेन्द्रनारायण राम (सहलेसका स्वजातीय) बाहेक कसैले पनि सलहेस गाथाको उद्धार गरी लिपिबद्ध गर्ने साहस देखाएका छैनन्। त्यस्तै नेपालका पुरातत्त्वविद् तारानन्द मिश्र सलहेस गाथामा आएको महेश्वर भण्डारीको चर्चाको ऐतिहासिक साक्ष्यको आधारमा पृथ्वीनारायण शाहको समयसम्म ल्याउँदै सलहेस गाथालाई शाहकालको मध्यभाग १८३० सन् १७७९० मा हुने तथ्य निरूपण गरेका छन्। लगभग एक सय वर्षपछि जार्ज ग्रियर्सनले सलहेस गाथाको प्रसंग छापे र दुसाध जातिद्वारा सलहेस पुजिने गरेको कुरा पनि भने। पचास-सय वर्षको अन्तरालमा उनी महानायकबाट देवतासम्म हुन पुग्छन्, जुन त्यति सम्भव लाग्दैन।

मैथिली लोकगाथामा सलहेसको स्थान यसकारण पनि विशिष्ट छ कि यसको प्रचार-प्रसार निकै विस्तृत भूभागमा फैलिएको छ। मैथिल गाथामा वर्णित स्थानहरू आजसम्म पनि छन्। यस्ता स्थानहरूमा महिसौथा (सलहेसको जन्म स्थान), सलहेस फूलबारी (राजा फूलबारी, जहाँ सलहेस पूजा गर्न फूल टिप्थे, मनिकदह (जहाँ सलहेस नित्य नुहाउँथे, पकडियागढ (जहाँको दरबारमा सलहेस चौकीदार थिए) कमलदह (जहाँ परीद्वारा सलहेसलाई जन्माएर छाडिएको विश्वास गरिन्छ), त्रिवेणी कमला, बैजनी र ताउखोलाको संगममा प्रत्येक वर्ष मेला लाग्ने ठाउँ, जहाँ सलहेसकी बहिनी वनसप्ती सतखोलियाका राजा शैनिप्रति मुग्ध भई पछि बिहे गरेकी, ननमहरी यहाँ रहेको मन्दिरमा सामान्य व्यक्तिको प्रवेशमा लागेको प्रतिबन्ध सलहेसले फुकुवा गराएका थिए, मोरङ (गाथामा हिन्दु पति महेश्वर भण्डारीको राजधानी जसकी चारवटी छोरी मालिन (सलहेससँग आजीवन प्रेम गर्दै अविवाहित बसिन, बराटपुर) मधुबनी जिल्लाको बासोपट्टि निर अवस्थित स्थान, राजा सलहेसको ससुराली, सिलहट अखडा (सलहेस कुश्ती खेल्ने ठाउँ आदि ठाउँहरू महिसौथा नजिक नै छन्। यी स्थान अधिकांश सिराहा जिल्लामा पर्छन्।

गाथाको बनौट र जननायक सलहेसको अवस्थिति, तिब्बत र किरातसँगको युद्धमा प्रदर्शित गरिएको बहादुरी जस्ता प्रसंगले पनि लोक नायक राजा सलहेसलाई नेपालको राष्ट्रिय विभूतिको रूपमा स्वीकार गर्नुपर्ने मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीको तर्क छ। सिरहा जिल्लामा रहेका सलहेस सम्बन्धित स्थलहरूको संरक्षण गर्नुपर्छ। सुरुमा एउटा सामान्य सुरक्षा अधिकारी (चौकीदार, राज्यप्रहरीबाट आफ्नो जीवनयात्रा थालेका सलहेस) नेपाल-भारतको मैथिली भाषी क्षेत्रमा पूजनीय बन्न पुग्नु सामान्य कुरा होइन।

निकै लामो समयदेखि समाजको लोककण्ठमा बास बस्दै आएको सहलेसको कथाले सम्पूर्ण समाजलाई प्रभावित पार्दै जानुले लोकगाथाको प्राचीनता, विश्वसनीयता र अन्ततः ऐतिहासिकता प्रमाणित हुन्छ। वर्ण व्यवस्थाको प्रारम्भिक चरणमा समाजमा शोषित, गुलाम, दास बनाउने प्रवृत्ति, सामन्तहरूको अत्याचार, जनपदीय राजाहरूको धन, प्रतिष्ठाको लालसाले निरन्तर एक-अर्कामाथि आक्रमणको सिलसिला चलेका बेला सलहेसले आफ्नो दलित, शोषित समाजका लागि सौर्य र तेजद्वारा नयाँ वातावरण निर्माण गर्न सक्नुले नै उनको व्यक्तित्वको उचाइलाई परिभाषित गर्छ।

प्रकाशित: १ वैशाख २०८३ ०८:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App