२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

बालेनमाथि नारायणकाजीको प्रहार- आफूलाई छानबिन नै नगर्ने कस्तो सुशासन ?

पूर्वउपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री बालेन्द्र शाह र वर्तमान सरकारको सुशासन नारामाथि प्रश्न उठाएका छन्।

४८ औं पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू र आफ्ना मन्त्रीहरूलाई जोगाएर अरूमाथि मात्रै कारबाही गर्ने परिपाटी सुशासन हुन नसक्ने बताए।

नेता श्रेष्ठले प्रधानमन्त्री बालेन शाहप्रति लक्षित गर्दै आफू अनुकूलको छानबिन प्रक्रियाप्रति असन्तुष्टि जनाए। ‘आफूलाई चाहिँ छानबिन नै गर्न नपर्ने, कस्तो हो यो सुशासन ?’ श्रेष्ठले भने, ‘म बाहेक अरू सबैलाई गर, हाम्रा मन्त्रीहरूको टिम र सांसदहरूलाई नगर, अरूलाई चाहिँ गर भन्ने पनि सुशासनको अभियान हुन्छ ?’

आफूहरू सरकारमा हुँदा एक जना पनि सल्लाहकार नराख्ने नीति रहेको स्मरण गराउँदै उनले अहिले सरकारले ५/५ जना विशिष्ट श्रेणीका सल्लाहकार थुपारेको भन्दै आपत्ति जनाए। उनले निष्पक्ष रूपमा उच्चपदस्थ सबैको सम्पत्ति छानबिन आयोग गठन गरेर छानबिन गर्न चुनौती दिए।

यस्तै, सुकुम्बासी र गरिब जनतामाथि सरकारले अमानवीय व्यवहार गरेको श्रेष्ठको आरोप थियो। ‘डोजर चलाएर रातारात उठाउने, बाढी पस्ने होल्डिङ सेन्टरमा लगेर राख्ने, पानी र खानासमेत नदिने अनि पछि जहाँबाट आएको हो त्यहीँ जानुस् भन्ने ?’ श्रेष्ठले प्रश्न गरे, ‘के यही हो सुशासन र जनताको पक्षमा गरिएको काम ?’

वर्तमान सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको जनमतमाथि कुठाराघात गरेको दाबी गर्दै उनले यो सरकारबाट राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रमाथि नै आक्रमण भइरहेको टिप्पणी गरे।

प्रकाशित: ७ श्रावण २०८३ १७:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App