२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

दिवंगत प्रेमप्रसाद आचार्यकी धर्मपत्नी नानुका लेख्छिन्: पूरा नहुने आश्वासनले गहिरो निराशा दिँदो रहेछ

दिवंगत प्रेमप्रसाद आचार्यकी धर्मपत्नी नानुका अधिकारीले विगतमा आफ्नो जीवनको भोगाइ र गरिएका प्रतिवद्धताको पालना नहुँदाका निराशा सार्वजनिक गरेकी छन् ।  

कांग्रेस नेता मोहनबहादुर बस्नेतले गणेश नेपालीको छोरीलाई पठाउन गरेको घोषणापछि उनले गरिएका घोषणा पूरा नहुँदा निराशा बढ्ने विषय खुलाएकी छन्।  

सुरुमा आएका आश्वासनले आशा जगाए पनि पछि पूरा नहुँदा निराशामा परिणत हुने भएकाले सरकारले नै यसको जिम्मेवारी लिनुपर्ने सुझाव उनको छ । 

आचार्यले राज्यप्रति चरम असन्तुष्टिसहितको गुनासो गर्दै नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गरेका थिए । उनको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको थियो । 

उनले लामै स्टाटर लेखेर आफ्ना कुरा भनेकी छन् । पढ्नुहोस् नानुकाको यो भनाइ:

म नानुका अधिकारी, स्वर्गीय प्रेमप्रसाद आचार्यकी धर्मपत्नी।

मेरो श्रीमान् प्रेमप्रसाद आचार्यको दुःखद निधनपछि तत्कालीन समयमा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतज्यूले सार्वजनिक रूपमा मेरो शैक्षिक योग्यता अनुरूप रोजगारीको व्यवस्था गरिदिने र मेरा छोरीहरूको स्नातक तहसम्मको अध्ययनको जिम्मेवारी लिने घोषणा गर्नुभएको थियो। त्यो कठिन समयमा उहाँका ती शब्दहरूले मलाई ठूलो आशा र भरोसा दिएका थिए।

उहाँको आश्वासनमा विश्वास गरेर मैले इलाम छोडी काठमाडौं आएँ। यहाँ आएर छोरीहरूलाई राम्रो विद्यालयमा भर्ना गराएँ र आफ्नो भविष्य पनि उहाँले गर्नुभएको प्रतिबद्धताअनुसार अघि बढ्ने विश्वास राखेँ। त्यतिबेला अन्य व्यक्ति तथा संस्थाबाट आएका सहयोगका प्रस्तावहरू पनि मैले उहाँको वचनमा भरोसा गरेर अस्वीकार गरेँ।

उहाँको पहलमा एउटा निजी संस्थामा काम गर्ने अवसर त पाएँ। पदका हिसाबले ठीकै जिम्मेवारी पाए पनि त्यसअनुसारको पारिश्रमिक भने कहिल्यै प्राप्त भएन। मैले काम सुरु गरेको करिब दुई वर्षपछि मात्र मेरो तलब निर्धारण गरियो, त्यो पनि अत्यन्त न्यून। आजसम्म पनि मेरो योग्यता, अनुभव र जिम्मेवारीअनुसारको पारिश्रमिक प्राप्त गर्न सकेकी छैन। आफ्नो क्षमता अनुसारको मूल्यांकन नहुँदा कहिलेकाहीँ निकै निराश महसुस हुन्छ।

उहाँले सार्वजनिक रूपमा घोषणा गर्नुभएको मेरी छोरीहरूको शिक्षाको जिम्मेवारी भने व्यवहारमा कहिल्यै पूरा भएन। सुरुमा केही व्यवस्था हुने भनिए पनि त्यसले निरन्तरता पाएन। त्यसपछि आजसम्म उहाँबाट छोरीहरूको शिक्षाका लागि कुनै सहयोग, कुनै व्यवस्था वा कुनै जिम्मेवारी लिइएको छैन। उनीहरूको सम्पूर्ण शिक्षा र भविष्यको भार मैले आफ्नै कमाइ र आफन्तहरूको सहयोगमा धान्दै आएकी छु।

म यो लेखाइ कसैप्रति आक्रोश व्यक्त गर्नका लागि होइन। बरु एउटा अनुभवबाट सिकेको कुरा समाज र जिम्मेवार व्यक्तिहरूसमक्ष राख्न चाहन्छु।

पीडित परिवारलाई सार्वजनिक रूपमा आश्वासन दिनु भनेको ठूलो जिम्मेवारी लिनु हो। यदि त्यो जिम्मेवारी पूरा गर्न सकिँदैन भने त्यस्ता आश्वासनहरूले केही समयका लागि आशा त दिन्छन्, तर पछि त्यही आशा गहिरो निराशामा परिणत हुन्छ।

मेरो आग्रह सरकारसँग पनि छ। कुनै पीडित परिवारको भविष्य कुनै व्यक्ति वा नेताको व्यक्तिगत प्रतिबद्धतामा मात्र निर्भर हुने अवस्था हुनु हुँदैन। यस्ता परिवारका शिक्षा, रोजगारी र जीवनयापनको विषयमा राज्यकै स्पष्ट, उत्तरदायी र दीगो व्यवस्था हुनुपर्छ, ताकि भविष्यमा अर्को कुनै परिवारले मैले भोगेजस्तो अवस्था भोग्न नपरोस्।

मलाई जस्तो अनुभव अरू कसैले भोग्न नपरोस्। सार्वजनिक रूपमा गरिएका प्रतिबद्धताहरू भाषणमा मात्र सीमित नभई व्यवहारमा पनि कार्यान्वयन होऊन्। यही मेरो विनम्र अपेक्षा हो।🙏 

 

प्रकाशित: २७ असार २०८३ २०:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App