२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

नागेश्वर सामुदायिक वन: योजना अभावमा ओझेलमा परेको प्राकृतिक सम्पदा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-६ कसरौलस्थित नागेश्वर मध्यवर्ती सामुदायिक वन, जहाँ बिहानको सुरुवात चराचुरुङ्गीको मधुर स्वरबाट हुन्छ। खुला मैदानमा निलगाई र चित्तल निस्फिक्री चरिरहेका देखिन्छन्। 

कहिलेकाहीँ मयुरको नृत्यले वातावरण झन् रमाइलो बनाइदिन्छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको यो वन क्षेत्र प्रकृतिको अनुपम सौन्दर्यले भरिपूर्ण छ। यति धेरै सम्भावना हुँदाहुँदै पनि स्पष्ट योजना, पूर्वाधार र लगानीको अभावमा यो क्षेत्र ओझेलमा परेको छ।

करिब ४८ हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक वन प्राकृतिक स्रोत, जैविक विविधता र सांस्कृतिक सम्पदाले समृद्ध छ। साल, सिसौ, खयर, असनाजस्ता बहुमूल्य वनस्पतिले ढाकिएको यो वन चित्तल, निलगाई, मयुर, वनकुखुरा, बाँदरजस्ता वन्यजन्तुको सुरक्षित वासस्थानका रूपमा रहेको छ। स्थानीय उपभोक्ताका अनुसार सामुदायिक वनमा कहिलेकाहीँ चितुवा र पाटेबाघ पनि देखापर्ने गर्छन्। जसले वनको जैविक महत्वलाई अझ उच्च बनाएको छ।

वनको समथर भूभाग, हरियाली मैदान, नजिकै बग्ने स्याली नदी र सिमसार क्षेत्रले यसलाई प्राकृतिक रूपमा नै पर्यटकीय गन्तव्य बनाएको छ। यहाँको शान्त वातावरण, चिसो हावा र हरियालीले आन्तरिक पर्यटकका लागि उत्कृष्ट विश्रामस्थल बन्न सक्ने सम्भावना बोकेको छ।

सामुदायिक वनका पूर्वअध्यक्ष जयबहादुर ऐरका अनुसार यो क्षेत्रलाई योजनाबद्ध रूपमा विकास गर्न सकियो भने शुक्लाफाँटा क्षेत्रकै एक महत्वपूर्ण पर्यटकीय केन्द्र बन्न सक्छ। प्रकृति, वन्यजन्तु र संस्कृति तीनै कुरा एउटै ठाउँमा भेटिने भएकाले यो ठाउँको महत्व धेरै छ। आवश्यक पूर्वाधार विकास नहुँदा यसको सम्भावना प्रयोग हुन सकेको छैन।

नागेश्वर वनको अर्को विशेषता भनेको यहाँ बसोबास गर्ने राना तथा चौधरी थारु समुदाय हो। थारु समुदायको मौलिक जीवनशैली, परम्परागत घर, विशिष्ट खानपान र सांस्कृतिक नृत्यले यस क्षेत्रलाई सांस्कृतिक पर्यटनका लागि पनि आकर्षक बनाएको छ। पर्यटकलाई स्थानीय जीवनशैलीसँग जोड्ने होमस्टे अवधारणासमेत यहाँ सहजै लागू गर्न सकिने देखिन्छ।

स्थानीय धनबहादुर चौधरी भन्छन्, ‘यति सुन्दर ठाउँ भएर पनि न त प्रचारप्रसार भएको छ, न आवश्यक पूर्वाधार बनेको छ।’ उनका अनुसार योजना अभावकै कारण वन क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विकास हुन सकेको छैन। पूर्वपश्चिम महेन्द्र राजमार्गसँगै जोडिएको यस वनमा सहज पहुँच भए पनि व्यवस्थित प्रवेशद्वार, पदमार्ग, विश्रामस्थल, सूचना बोर्ड, भ्युटावरजस्ता आधारभूत संरचना अभावमा पर्यटक आकर्षित गर्न नसकेको चौधरीको भनाइ छ।

वन संरक्षणकर्मी कृष्णबहादुर ऐरका अनुसार यदि वन क्षेत्रमा पदमार्ग निर्माण, बर्ड वाचिङ टावर, सिमसार व्यवस्थापन, थारु सांस्कृतिक संग्रहालय र होमस्टेजस्ता पूर्वाधार विकास गर्न सकियो भने यसलाई ‘शुक्लाफाँटा उद्यान’का रूपमा विकास गर्न सकिन्छ।

सुनदेवी उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर विष्टका अनुसार नागेश्वर वनलाई नजिकै रहेको हिरापुरको कृष्णसार संरक्षण क्षेत्र, तारा ताल र अन्य पर्यटकीयस्थलसँग जोडेर एकीकृत पर्यटन सर्किट निर्माण गर्न सकिन्छ। ‘यसले पर्यटकलाई एकै ठाउँमा धेरै अनुभव दिनेछ’, उनले बताए।

यस किसिमको विकासले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने, सामुदायिक वनको आम्दानी बढाउने र स्थानीय उत्पादन तथा हस्तकलालाई बजार उपलब्ध गराउने उनी बताउँछन्। जैविक विविधता संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न पनि यसले महत्वपूर्ण भूमिका खेल्नेछ।

नगरपालिकाको वडा नं ६ का अध्यक्ष दानबहादुर ऐरले नागेश्वर वनको प्राकृतिक सुन्दरता र सम्भावनालाई उजागर गर्दै यसलाई योजनाबद्ध रूपमा विकास गर्न सके शुक्लाफाँटा क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने बताए। ‘स्थानीय तह, समुदाय र सम्बन्धित निकायबीच समन्वय हुन सके यो सम्भावना वास्तविकतामा बदल्न धेरै समय लाग्दैन’, उनले भने।

‘सामुदायिक वन उपभोक्ता समितिले पनि यस क्षेत्रलाई पर्यटकीय उद्यानका रूपमा विकास गर्न आवश्यक बजेट, प्राविधिक सहयोग र योजना स्वीकृतिका लागि सम्बन्धित निकायसँग पहल गर्नुपर्छ, त्यसमा हामी पनि सहयोग गर्छौँ’ उनले भने। रासस

प्रकाशित: ६ वैशाख २०८३ ०७:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App