१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

म्याङलुङ-तमोर लुबुघाट सडकखण्ड स्तरोन्नति गरिँदै

म्याङलुङदेखि तमोर लुबुघाटसम्मको १८ किलोमिटर सडकखण्डको स्तरोन्नति भइरहेको छ। एक सातायता म्याङलुङ नगरपालिका-१ र २ ले संयुक्त रूपमा सडक स्तरोन्नति गरिरहेका छन्।

म्याङलुङ-१ का वडाध्यक्ष बुद्धिराज लिम्बूका अनुसार काम सम्पन्न भएपछि हिसाब गरेर आधा-आधा बजेट दुवै वडाले व्यहोर्नेछन्। म्याङलुङ-२ का वडाध्यक्ष राजकुमार लिम्बूले ८० प्रतिशत सडक स्तरोन्नतिको काम सकिएको बताए।

नगरपालिकाको स्काभेटर र ट्र्याक्टर प्रयोग गर्दै म्याङलुङ-१ र २ नम्बर वडाले मिलेर कच्ची सडक स्तरोन्नति गरिँदै छ। यो सडक सदरमुकामलाई छिमेकी जिल्ला पाँचथरको फिदिमसँग छोटो दूरीमा जोड्ने महत्त्वपूर्ण मार्ग हो। यो सडक पाँचथरको कुम्मायक गाउँपालिकाबाट म्याङलुङको शुक्रबारे हटिया आउन प्रयोग हुँदै आएको छ। यो सडक तेह्रथुम-पाँचथर दुवै जिल्लाका बासिन्दाका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ।

कुम्मायक गाउँपालिकाका लागि सबैभन्दा नजिकको ठुलो हटिया म्याङलुङ भएकाले त्यहाँ उत्पादित दाल, बदाम, मकै, कुखुरा, सुङुरका पाठालगायत कृषि तथा पशुपालनजन्य वस्तु यही बजारमा बिक्री गरिँदै आएको छ। पहिला घण्टौँ हिँडेर कठिन यात्रा गर्दै सामान ल्याउने किसान यो सडक बनेपछि लुबुघाटदेखि म्याङलुङसम्म ट्र्याक्टरमार्फत सहज रूपमा आवतजावत गर्दै आएका छन्।

वर्षातको पानीले खाल्डाखुल्डी बनाएर सवारीसाधन आवतजावतमा कठिनाइ भएपछि सडक स्तरोन्नतिपछि भने कुम्मायकबाट म्याङलुङको हटियामा आउने स्थानीयवासीलाई थप सहज हुनेछ। म्याङलुङबाट पाँचथर फिदिम र तमोर करिडोरमार्ग भएर सुनसरीको धरानसम्म आवतजावत गर्न पनि यसबाट सुविधा पुग्नेछ। रासस

प्रकाशित: ७ मंसिर २०८२ ०८:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App