१६ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

तोरीले पहेँलपुर बेथानचोकका बारी

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ गैह्रीभञ्ज्याङको बारीका पाटाभरि अचेल तोरी फुलेर यहाँका दृश्य निकै आकर्षक देखिएको छ ।  

स्थानीय किसान हरिप्रिया सापकोटाको बारीमा तोरी फूलले गाउँकै सुन्दरता थपेको छ । उनले बारीभरि फुलेका तोरीले त्यहाँ पुग्नेहरुको मन लोभ्याउने गरेको बताए । ‘बारीमा पहेँलपुर देखिने गरी तोरीको फूल फुलिरहेको छ, केही कालो तोरीको बोट हुर्किंदै छन् । केही भागमा भने मिश्रित रुपमा आलुखेतीसमेत छ । यसले यहाँको सुन्दरता थपेको छ’, सापकोटाले भने, ‘गाउँलाई सुन्दर बनाउने मात्रै होइन, यहाँको उत्पादन राम्रो आम्दानीको स्रोत भएको छ । त्यसैले नगदे बाली तोरीखेतीलाई निरन्तरता दिँदै आएका छौँ ।’

सोही वडाका अर्का किसान एवं माउण्ट महाभारत ‘होमस्टे’का सञ्चालक कमल नेपालले घरायसी प्रयोग र बिक्रीबाट आम्दानी हुने भएकाले किसानहरू यसतर्फ आकर्षित भइरहेको बताए । ‘कृषकले खाद्यान्न बाली मकै भित्र्याएपछि नगदे बालीको रूपमा तोरीखेती गर्दै आएका छौँ’ उनले भने, ‘जसले फुल्ने बेला वातावरणलाई सुन्दर बनाउने मात्रै होइन उत्पादक  कृषकलाई घरायसी प्रयोग र बिक्रीबाट आम्दानी पनि भइरहेको छ ।’  

पर्यटकीय हिसाबले प्रसिद्ध सो ठाउँमा भएको तोरीखेतीको आकर्षक दृश्यले स्वदेशी तथा विदेशी पर्यटकलाई थप आकर्षिक बनाउने गरेको नेपालले बताए ।

बेथानचोक गाउँपालिका कृषि शाखाका नायब प्राविधिक सहायक मधुसुदन दाहालका अनुसार गाउँपालिकाको ४० देखि ४५ हेक्टर क्षेत्रफलमा तोरीखेती भइरहेको छ । यसबाट प्रतिहेक्टर क्षेत्रफलमा एक दशमलव दुई मेट्रिक टन तोरी उत्पादन हुँदै आएको उनले बताए ।  

गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले गाउँपालिकाको सबैजसो वडामा तोरीखेतीको राम्रो उत्पादन हुँदै आएको बताए । पालिकाको केही क्षेत्रमा तुषारोले समस्या पार्नेबाहेक सबैजसो ठाउँमा अधिकांश किसानले यसबाट लाभ लिँदै आएको उनको भनाइ छ ।  

 

प्रकाशित: १५ मंसिर २०८२ २२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App